११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


समुद्र पनि यसरी सुक्दोरहेछ, पानीजहाज मरुभूमिमा थन्किए (फोटोफिचर)


0
Shares

उज्वेकिस्तान, भदौ १९ । अथाह पानीको वर्णन गर्नुपर्दा हामी समुद्रलाई सम्झन्छौं । समुद्र अर्थात् अथाह पानीको भण्डार । यस्तो भण्डार पनि रित्तिन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर त्यही समुद्र सुकेर मरुभूमिमा परिणत हुन पनि बेर लाग्दो रहेनछ । उज्वेकिस्तान र कजाखस्तानबीचको अरल सागरको वर्तमान स्वरुप हेर्ने हो भने जो कोही चकित हुनु स्वाभाविक हो ।

यो सागरको ९० प्रतिशत हिस्सा अहिले मरुभूमिमा परिणत भइसकेको छ । कुनै बेला यो समुद्रलाई विश्वकै चौथो ठूलो समुद्र मानिन्थ्यो । तर पाँच दशकै यसले आफ्नो त्यो परिचय गुमाइसकेको छ । अर्थात् विगत पाँच दशकमा यो समुद्रको ९० प्रतिशत हिस्सा सुकिसकेको छ ।

अरल सागर सुकेको घटना जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभावका रुपमा लिइन्छ । सन् १९६० देखि यो समुद्र सुक्ने क्रम सुरु भएको हो । सन् १९९७ सम्म आइपुग्दा यो समुद्रको आकार खुम्चिदैं चारवटा तालमा परिणत भयो ।

यसको चारभागलाई अहिले उत्तरी अरल सागर, दक्षिणी अरल सागर, पूर्वी बेसिन र पश्चिमी बेसिन भनेर चिनिन्छ ।

सन् २००९ मा आइपुग्दा सागरको दक्षिणपूर्वी हिस्सा पूर्ण रुपमा सुक्यो भने दक्षिणपश्चिमी हिस्सामा पनि निकै कममात्र पानी रह्यो ।

सागर सुकेका कारण यस क्षेत्रमा माछा मारेर जीविकोपार्जन गर्ने ठूलो जनसंख्या आर्थिक संकटमा पर्नुका साथै बेरोजगारी र मुलुकलाई नै आर्थिक संकटमा धकेल्यो ।

जानकारहरुका अनुसार तत्कालिन सोभियत संघको एउटा परियोजनाका कारण यो सागर संकटमा परेको हो । सन् १९६० मा सोभियत संघको सिंचाई परियोजनाका लागि विभिन्न नदीहरुको बहाव मोडियो । त्यसपछि समुद्रमा आउने पानीको स्रोत घट्न गई समुद्र सुक्ने क्रम सुरु भएको हो ।

यो सागरलाई जोगाउन अहिले कजाखस्तानले केही प्रयास गरे पनि त्यति सार्थक हुन सकिरहेको छैन । (एजेन्सी)