११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


जुनोले खिचेको बृहस्पति ग्रहको नयाँ तस्वीर सार्वजनिक


0
Shares

काठमाडौं, भदौ १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुनो उपग्रहले खिचेका नयाँ तस्वीर नासाले सार्वजनिक गरेको हो ।

यी तस्वीरमा बृहस्पति ग्रहका दुबै ध्रुबमा ग्यासको बादल मडारिएको देखिएको छ । यसअघि बृहस्पति ग्रहका कुनै पनि तस्वीरमा ग्यासको बादल देखिएको थिएन ।

गत ५ जुलाईमा बृहस्पति ग्रहको कक्षमा स्थापित भएको जुनो भदौ ११ मा बृहस्पतिको सबैभन्दा नजिकबाट गएको थियो ।

यही क्रममा जुनोले बृहस्पति ग्रहको तस्वीर खिचेको हो । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको उत्पति र यसको विकासका बारेमा अध्ययन गर्न नासाले पाँच वर्षअघि जुनोलाई त्यसतर्फ पठाएको थियो ।

जुनोले बृहस्पति ग्रहको बनावट, तापक्रम, गति तथा अरु विषयका बारेमा जानकारी हासिल गर्ने छ । यस्तै बृहस्पतिको ठूलो रातो धब्बा र त्यसबाट उठ्ने आँधीका बारेमा पनि जुनोले पत्ता लगाउने नासाले जनाएको छ ।

नजिकबाट बृहस्पति ग्रहको परिक्रममा गरिरहेको जुनोलाई बृहस्पतिको एक पटक परिक्रममा गर्न ५३ दिन लाग्छ ।

सन् २०१८ को फेब्रुअरीमा जुनो बृहस्पतिको वातावरणमा प्रवेश गर्ने र त्यसबेलासम्म बृहस्पतिबारे धेरै जानकारी प्राप्त हुने वैज्ञानिकको आशा छ । (एजेन्सी)