
पोखरा, भदौ १९ । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।’
सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखा भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन् ।
त्यो घर जहाँ उनी मस्तको निद्रा निदाउँथे र आरामको जिन्दगी बाँचिरहेका थिए । यस बर्ष त्यसैको कारण झन्डै उनको ज्यान गएन । उनको धनदौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहृत अहमद मुस्किलले बाँचेका छन् ।
भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसै साता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब उनलाई युवतीले आफ्नो घर हो भनेर लगेको ठाउँमै थुनिनुपरयो । भदौ १२ गते उनी लेखनाथ नगरपालिका–८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने ।
झ्यालबा झरेर निस्कँदा चोरको बात लाग्यो र प्रहरीकहाँ पुर्याइए । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए, उता उनका दाजुसँग एक करोड रुपैंया माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रबक्ता डीएसपी गर्जुसिद्धि बज्राचार्यले भने ।
केशबशरण लामिछाने, अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्