
काठमाडौं, भदौ १८ । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले चोटका कारण भेनेजुएलाविरुद्ध हुने विश्वकप फुटबलअन्तर्गत्को छनोट खेल गुमाउने भएका छन् ।
अर्जेन्टिनाले आगामी मंगलबार सन् २०१८ को विश्वकप छनोटअन्तर्गत् भेनेजुएलासँग प्रतिस्पर्धा गर्दैछ ।
अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजाले ‘ग्रोइन’ चोटका कारण मेसीले उक्त खेल नखेल्ने जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय फुटबलको संन्यासबाट फर्किएको पहिलो खेलमै मेसीले गत शुक्रबार विश्वकप छनोटअन्तर्गत् उरुग्वेविरुद्ध निर्णायक गोल गरेका थिए ।
उनकै गोल मद्दतमा अर्जेन्टिनाले खेल १–० ले जितेको थियो । जितसँगै अर्जेन्टिना विश्वकप छनोटमा दक्षिण अमेरिकी समूहमा शीर्ष स्थानमा रहेको छ ।
उक्त खेलपछि मेसीले ‘ग्रोइन’को चोटले आफूलाई धेरै ग्राहो भएको बताएका थिए ।
अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजाले भने–‘उनले खेल्न सक्दैनन् । हामी कुनै खतरा लिदैनौं । हामीले उनको ध्यान दिन जरुरी छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्