
काठमाडौं, भदौ १६ । नेपाल क्रिकेट संघको विवाद समाधानको प्रयास गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोली फेरी नेपाल आउने भएको छ ।
केही महिना अघिमात्रै आईसीसीको एक टोलीले नेपाल भ्रमण गरेको थियो । त्यसपछि बसेको आईसीसी बोर्ड बैठकमा एसियाली क्रिकेट परिषद् एसीसीका प्रतिनिधिहरुले नेपाली क्रिकेटको विवाद समाधानका लागि दबाब दिएपछि आईसीसीले फेरी अग्रसरता लिएको हो ।
विवाद समाधानमा नेपालका सरोकावाला पक्षहरुले गरिरहेका प्रयासबारे बुझ्न र आगामि कदम चाल्न आईसीसीको उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
यही सेप्टेम्बर ४ तारीख अर्थात आगामि आईतबार नेपाल आउने टोलीले राष्ट्रिय खेलकुद परिषद, विवादित दुई वटै क्रिकेट संघ र अन्य सरोकारवाला निकायहरुसँग छलफल गर्नेछ ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा आउने टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजीत श्रीपाईलीसँग विशेष भेटघाट र कुराकानी गर्ने तयारी गरेको छ ।
उक्त भेटघाटपछि आई.सी.सी.कै पहलमा एउटा कार्यदल गठन गर्ने योजना छ ।
सो कार्यदलले नेपाल क्रिकेट संघको हालको विधानको समिक्षा गरी नयाँ विधानको मस्यौदा तयार पार्ने र सोही अनुसार अघि बढ्ने योजना आईसीसीको छ । तर यसका लागि यहाँका सरोकारवाला पक्षहरुसँग आईसीसीले केही शर्त राख्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्