६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भ्यागुते रोगको खोपमै शंका, पुरै खोप लगाएका बालबालिकामै रोग देखियो


0
Shares

काठमाडौं, भदौ १५ । पुरै मात्रामा खोप लगाएका ३ बालबालिका भ्यागुते रोग (डिप्थेरिया) रोग लागेर अस्पताल भर्ना भएपछि मुलुकमा दिइने ‘डीपीटी’ खोपको विश्वसनियतामा शंका पैदा भएको छ ।

धनुषा तिलहीका ५ वर्षीय मनीष यादव, सुर्खेत मोहिनताराकी ११ वर्षीय सपना ओली र उनका ६ वर्षीय भाइ सन्देश ओलीको अस्पतालमा उपचार भइरहेको छ ।

ओलीकी आमाले यस्तै रोगले गाउँमा अघिल्लो साता एक बच्चाको मृत्यु भइसकेको चिकित्सकलाई बताएकी छिन् ।

भ्यागुते रोगले मुटुमा असर गरेपछि सपना हाल आईसियुमा छिन् । यो रोगले दोस्रो सातातिर बिरामीको मुटुमा असर गर्छ भने तेस्रो साता स्नायुसम्बन्धी समस्या हुन्छ ।

यादवको प्रयोगशाला परीक्षणले भ्यागुते रोग प्रमाणित भइसकेको छ । अरु दुईको प्रयोगशाला प्रतिवेदन बुधबार आउने भए पनि लक्षणका आधारमा उनीहरुलाई समेत भ्यागुते नै लागेको यकिन भइसकेको शिक्षण अस्पताल, बाल रोग विभागकी डा. सिर्जना बस्नेतले जनाइन् । –कान्तिपुर दैनिकबाट