
काठमाडौं, भदौ १२ । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलमा शिर्ष क्लवहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।
नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा शत प्रतिशत विजयी नतिजा निकालिरहेको चेल्सीले शनिबार राती बर्न्लेलाई ३-० ले हरायो ।
खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्ड, विलियन र भिक्टर मोसेसले एक एक गोल गरे । गएराती भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-१ ले हरायो ।
खेलमा आर्सनललाई विजयी गराउन सान्टी काजोर्ला, अलेक्सिस सान्चेज र मेसुत ओजिलले एक एक गोल गरे । प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीलाई १-० ले हरायो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन सब्स्टीच्युट खेलाडी मार्कस रास्फोर्डले ईन्जुरी समयमा निर्णायक गोल गरे ।
गएराती लिभरपुल र टोटनह्यामले एक एक गोलको बराबरी खेल्दा एभर्टनले स्टोक सिटीलाई १-० ले तथा लेष्टर सिटीले स्वान्सी सिटीलाई २-१ ले हराएका छन् ।
क्रिष्टल प्यालेस र बर्नमाउथ तथा साउथह्याम्पटन र सण्डरल्याण्डले १÷१ गोलको बराबरी खेलेका छन् । शनिबार रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३ खलबाट ९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा उक्लिएको छ ।
समान ९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ७ अंक जोडेको एर्भटन भने तेस्रो स्थानमा उक्लिएको छ ।
इंग्लिश प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । दावेदार म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा वेष्ट ब्रोम र सण्डरल्याण्ड भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्