११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उत्तर कोरियाली नेताले भने–‘क्षेप्यास्त्र परीक्षण ठूलो सफलता’


0
Shares

सोल, भदौ ९ । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् ।

उनले बुधबार भने–‘उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।’

बुधबारको सो परीक्षणको सफलताले अब उत्तर कोरियाको क्षेप्यास्त्रको तारो अमेरिका र दक्षिण कोरिया भएको आसय पनि उनले व्यक्त गरेको उत्तर कोरियाली समाचार समिति ‘केसीएनए’ले जनाएको छ ।

उत्तर कोरियाले बुधबार यस्तो क्षेप्यास्त्र देशको उत्तरी बन्दरगाह सिन्पोमा गरेको थियो । सो जानकारी यसअघि नै दक्षिण कोरियाको सैनिकले पनि दिएको थियो ।

देशको उत्तरतर्फको समुद्रीकिनारबाट गएको सो क्षेप्यास्त्र जापानतर्फ लागेको थियो । सो क्षेप्यास्त्रले कम्तीमा पनि ५०० किलोमीटरको दुरी तय गरेको जानकारी पनि गराइएको थियो ।

उक्त परीक्षणपछि बुधबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसेको थियो ।

उक्त बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको यस्तो प्रचारात्मक र उत्तेजक व्यवहार कारबाहीको दायरामा पर्नुपर्नेमा जोड दिएको थियो ।

सुरक्षा परिषदको सो बैठकले उत्तर कोरियाको सो कदमको निन्दा गरेको छ । यस्तो कार्यलाई उत्तर कोरियाली नेताले सफलताकोरुपमा प्रचार गर्नु दुःखद् भएको पनि उक्त परिषदले जनाएको छ ।

यसै, महिनाको सुरुमा पनि उत्तर कोरियाले जापानी भू–भागको समुद्रमा पर्नेगरी यस्तै क्षेप्यास्त्र हानेको थियो । त्यसपछि लगत्तै जपानलगायत विश्व समुदायले सो घटनाको निन्दा गरेका थिए ।

यसअघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । सो परीक्षणको सर्वत्र विरोध भएको थियो ।

गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै आक्रामक र उत्तेजक देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको थियो । उसले बुधबार बिहान अकस्मात् यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणकाविरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली भू–भागमा प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् ।

उत्तर कोरियाले त्यस प्रणालीको कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । रासस/एएफपी