
मनिला, भदौ ८ । फिलिपिन्स संयुक्त राष्ट्रसंघबाट अलग्गिने भनी केही दिन पहिले यहाँका राष्ट्रपतिले राखेको धारणा एउटा ठट्यौलीमात्र भएको उनले नै बताएका छन् ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्नेले गत आइतबार सो भनाइ सार्वजनिक गरेका थिए । तर, यस भनाइको यहाँका विदेशसचिव पर्फेक्टो याशीले भने खन्डन गरिसकेका छन् ।
संयुक्त राष्ट्रसंघले फिलिपिन्समा भएका लागूऔषध ओसारपसार र यससँग सम्बन्धित लडाइँका विषयलाई लिएर यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आफूहरु संयुक्त राष्ट्रसंघबाट बाहिरिन पनिसक्ने बताएका थिए ।
फिलिपिन्समा कैयौं प्रकारका अवैध लागूऔषधको कारोबार हुने गर्दछ । यसका कारण यहाँ हत्या हिंसा पनि ठूलो मात्रामा फैलिएको छ ।
सो हिंसाको नियन्त्रणकाक्रममा यहाँ मानवअधिकारको हनन् भएको तथा धेरै मानिस सो लागूऔषध नियन्त्रणका नाममा मारिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका थिए ।
राष्ट्रपति डुटेर्तेले ‘यो सबै ठट्यौली हो’–भने । उनले बुधबार संवाददाताहरुसँग भने–‘के तपाइँहरुले कहिल्यै जोक गर्नुहुन्न ?’
फिलिपिन्सका राष्ट्रपतिले आफ्नो देशलाई आरोप लगाएको कारणले सो धारणा राखेको र आफूहरु संगठनबाट बाहिरीने सोचमा नरहेको यसअघि नै विदेशसचिव याशीले बताएका थिए ।
उनले सो पत्रकारहरुसँग भने–‘हुन त त्यहाँ कैयौं निराशाहरु छन्, र हामीजस्ता देशहरुको कुनै वास्ता छैन तरपनि हामी सो संगठनबाट बाहिर भने हुँदैनौं ।’
गएको जुन महिनामा डुटेर्ते यहाँको राष्ट्रपति भएपछि लागूऔषधका मुद्दाहरुका कारण कम्तीमा पनि दुई हजार नागरिकको ज्यान गएको छ ।
राष्ट्रपति डुटेर्तेले आगामी दिनमा पनि यस मुद्दालाई सशक्तरुपमा अघि बढाउने पनि जानकारी दिएको बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्