४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


एक चौथाइ गर्भवती २० वर्षमुनिका


0
Shares

म्याग्दी, भदौ ८ । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।

कार्यालयको तथ्यांकअनुसार आव २०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको संख्या २८.२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो ।

किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभइ आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुबैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ ।

२० वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपांगताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए ।

उनकाअनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या घटे पनि मातृशिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको संख्या ५१.६० प्रतिशत छ ।

यसैगरी, म्याग्दीका ६० प्रतिशत गर्भवतीलेमात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् ।

भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूतिगृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवं आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो । रासस