२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


‘उच्च अधिकारीका भित्री इच्छा पुरा गराउन इन्धन अभाव’


0
Shares

काठमाडौं, भदौ ६ । करिब एक सातादेखि अधिकांश पेट्रोल पम्पहरुमा सूचना टाँसिएको छ– पेट्रोल छैन ।

कतै पेट्रोल बाँड्दै गरेको भेटिए पनि सवारी साधनको लामो लाइन हुन्छ । नाकाबन्दी खुलेयता फाट्टफुट्टबाहेक सवारी साधनको लाइन नहुने पेट्रोल पम्पमा अचानक किन यस्तो भयो ? सरकारले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

सरकारी निकाय र पेट्रोलियम कारोबार गर्ने व्यवसायीको धारणा फरक–फरक छ ।

आयल निगमले लगातार ३ दिन सार्वजनिक बिदा परेकाले यस्तो भएको दाबी गरेको छ भने आपूर्ति मन्त्रालयले समस्या नै नरहेको दाबी गरेको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी संघको तर्क भने अर्कै छ । ‘भारतीय आयल निगम (आइओसी)ले इन्धन भण्डारण गर्ने ट्यांकी बर्सेनि सफाइ गर्छ,’ संघ काठमाडौंका अध्यक्ष बासु दाहालले भने, ‘अहिले सफाइको काम भइरहेकाले रक्सौल नाकाबाट ७० प्रतिशतमात्र इन्धन भित्रिएको छ ।’

उनले अर्को कारण पनि देखाए । थानकोट डिपोको पनि एउटा चेम्बरमा लिक भएकाले केही अभाव भएको हो । पम्प संचालकले पनि थोरै परिमाणमा पेट्रोल लिएकाले यस्तो भएको उनले कारण देखाए ।

‘निगमले मागअनुसार दिदैंन दिए पनि कम परिमाणमा दिन्छ,’ उनले भने, ‘त्यही भएर पम्प संचालकले निगमलाई वास्ता गरेका छैनन् । त्यसको असर सर्वसाधारणलाई परेको छ ।’

केही पम्पले पेट्रोल वितरण गरे पनि सर्वसाधारणको भीड दिनहुँ बढ्दो छ । ‘निगमले चाहने हो भने तत्कालै सहज बनाउन सक्छ,’ निगम संचालक समितिका एक सदस्यले भने, ‘तर उच्च अधिकारीका भित्री इच्छा पुरा गराउनका निम्ति बेलाबखतमा जानाजान यस्तो अभाव गराइन्छ ।’ –कान्तिपुर दैनिकबाट