
काठमाडौं, भदौ ५ । नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले रियो ओलम्पिकको कास्य पदकका लागि भएको भिडन्तमा आशालाग्दो प्रदर्शन गरेकी छिन् ।
फेन्च खेलाडी ग्वाल्डीज ईपान्गुईसँगको खेल ४÷३ ले गुमाउँदै कास्य पदकको संभावनाबाट टाढिएपनि निशाले अघिल्लो दिनको तुलनामा सुधारिएको प्रदर्शन गरेकी हुन् ।
पहिलो खेलमा निशालाई हराएकी चिनियाँ खेलाडी झेङ फाईनलमा पुगेपछि निशाले कास्य पदकको लागि खेल्ने अवसर पाएकी हुन् ।
फ्रेन्च खेलाडीविरुद्धको खेल गुमाएपनि निशाले ३ अंक स्कोर गरिन् । ओलम्पिकमा सहभागि नेपाली तेक्वान्दो खेलाडीले ल्याएको यो पहिलो अंक हो ।
यसअघि नेपालबाट संगिना वैद्य र दिपक विष्टले छनौट चरण पार गर्दै ओलम्पिकमा पुगेपनि आशा गरे अनुरुपको प्रदर्शन गर्न सकेका थिएनन् ।
निशाको हारसँगै ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकको नेपालको यात्रा सकिएको छ ।
पाँच खेलमा सात खेलाडीले सहभागीता जनाएको रियो ओलम्पिकमा नेपालबाट पौडीबाज शिरीष गुरुङ्ग र सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाउँदा सबैभन्दा कान्छी पौडीबाज गौरिका सिंह, धावक हरिप्रसाद रिमाल, जुडो खेलाडी फुपुल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तानले ओलम्पिकको अनुभवमात्र बटुलेका थिए ।
प्रतिक्रिया दिनुहोस्