
काठमाडौं, भदौ ४ । रियो ओलम्पिकमा पुरुष फुटबलतर्फको उपाधिका लागि आइतबार ब्राजिल र जर्मनी भिड्दैछन् ।
खेल नेपाली समयअनुसार आइतबार बिहान सवा २ बजे सुरु हुनेछ ।
विश्व फुटबलका ‘पावर हाउस’ यी दुई देशबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
ब्राजिलले ओलम्पिक फुटबलमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन भने जर्मनीले ओलम्पिक पुरुष फुटबलमा एकपटक स्वर्णपदक चुमेको छ । ब्राजिलले यसअघि ओलम्पिक फुटबलमा तीनपटक रजतपदक जितेको छ ।
रियो ओलम्पिकमा ब्राजिल घरेलु भूमिमा जर्मनीलाई हराउँदै इतिहास रच्न चाहन्छ भने जर्मनी स्वर्णपदक लिएर घर फर्कने लक्ष्यकासाथ मैदानमा उत्रनेछ ।
त्यस्तै, पुरुष फुटबलको कास्यपदकका लागि होन्डुरस र नाइजेरिया भिड्दैछन् । खेल नेपाली समयअनुसार शनिबार राति पौने १० बजे सुरु हुनेछ ।
यता, महिला फुटबलको स्वर्णपदक जर्मनीले जितेको छ । शनिबार बिहान भएको फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलोपटक ओलम्पिक महिला फुटबलमा स्वर्णपदक जितेको हो ।
आयोजक ब्राजिललाई सेमिफाइनलमा हराएको स्वीडेन फाइनलमा जर्मनीसँग हारेको हो । जर्मनी भने क्यानडालाई हराएर फाइनलमा आएको थियो ।
त्यस्तै, क्यानडाले आयोजक ब्राजिललाई २–१ ले हराएर कास्यपदक जितेको छ ।
क्यानडाले सन् २०१२ को लन्डन ओलम्पिकमा पनि फ्रान्सलाई हराउँदै महिला फुटबलमा कास्यपदक जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्