४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


फुट्न जानेको छैन यो सिसाले… (फोटोफिचर)


0
Shares

बेइजिङ, भदौ २ । ‘सिसा’ भन्नासाथ हामी एउटा कमजोर बस्तु ठान्छौं जो सामान्य ठक्कर वा प्रहारबाट टुक्रा–टुक्रा हुन्छ ।

भौतिक संरचना निर्माणमा विश्वलाई चकित पार्दै आएको चीनले भने त्यही कमजोर बस्तुलाई प्रयोग गरेर विशाल पुल निर्माण गरेको छ । पछिल्लो समय चीनले सिसाका पुललाई निकै प्राथमिकता दिएको छ र यस्तो पुल निर्माण उसको महत्वाकांक्षी योजनामात्र नभई विश्वलाई नै चकित तुल्याउने एउटा नयाँ प्रयोग पनि भएको छ ।

झाङ्गजाइजीस्थित तियानमेनशन नेशनल पार्कमा ३३० फिट लामो सिसाको पुल निर्माण गरिएको छ । १ अगस्टबाट पर्यटकका लागि खुला गरिएको यो पुल ५ फिट चौडा छ । विशाल अग्लो चट्टानमा बनाइएको यो पुलबाट जमिन हेर्दा जोसूकैलाई कहाली लाग्दछ ।

पारदर्शी सिसाबाट बनाइएको यो पुलमा हिँड्ने मानिसको पाइला लर्बराउनु स्वाभाविक हो किनकि पुलमा हिँडिरहँदा तल जमिन छर्लङ्ग देखिन्छ ।

समुद्री सतहबाट ४ हजार ६ सय फिट उचाइमा रहेको यो पुल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

त्यस्तै हुनान प्रान्तको झाङ्गजाइजीमा एक हजार ४ सय १० फिट लामो पुल बनाइएको छ, जसमा सिसाको धरातल छ ।

९८० फिट अग्लो यो पुल अगस्ट २० देखि सर्वसाधारणका लागि खुला गरिने छ ।

यसअघि एक समारोहबीच यो पुलको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा इन्जिनियरहरुले विशाल घन दिएर युवा–युवतीलाई पुलमा रहेको सिसा फुटाउन चुनौती दिएका थिए । यसका साथै एउटा कारलाई यो पुलबाट पार गराइएको थियो ।

हुनान प्रान्तको स्टोन बुद्ध माउन्टेनमा अर्को एउटा पुल बनाइएको छ, जसमा सिसालाई नै धरातलमा राखिएको छ ।

९८४ फिट लामो र ५९० फिट अग्लो यो पुल एक वर्षअघि नै संचालनमा आइसकेको छ ।

‘त्यस्तै चोङ्गकिङ्गस्थित लोङ्गगाङ्ग नेशनल जियोलोजिकल पार्कमा एउटा यस्तो डेक बनाइएको छ, जसको धरातल सिसाले नै बनेको छ ।

एउटा चट्टानको बाहिरी भागमा निकालिएको डेक एक हजार चार सय १० फिट लामो छ । (एजेन्सी)