२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


ऐन बनेको २४ वर्ष बित्यो, यातायात निरीक्षक नियुक्त भएनन्


0
Shares

काठमाडौं, भदौ २ । सबभन्दा बढी गाडीको आवतजावत हुने काठमाडौं उपत्यकामा मात्र ९ लाख २२ हजार ९ सय गाडी दर्ता छन् । उपत्यका बाहिरबाट प्रवेश गर्ने गाडीको संख्या पनि जोड्दा दैनिक १० लाख जति गाडी उपत्यकामा ओहोरदोहोर गर्छन् ।

यी १० लाख गाडीको व्यवस्थापनका लागि भने जम्मा १२ सय ७० जनामात्र ट्राफिक प्रहरी खटिएका छन् । यस हिसाबले एक ट्राफिक प्रहरीको भागमा ७ सय ८० गाडी व्यवस्थापनको जिम्मा पर्दछ ।

‘प्रतिवर्ष गाडीको संख्या थपिंदै छ, सडकको सुधार तथा स्तरोन्नतिमा भने खासै काम भएको छैन,’ काठमाडौं उपत्यका ट्राफिक महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले भने । उनका अनुसार एक ट्राफिक प्रहरीले दैनिक सडकमा ट्राफिक व्यवस्थापनका लागि १६ घण्टा खटिनुपर्छ । यसरी खटिदा पनि सवारी व्यवस्थापन चुस्त हुन नसक्नुमा यातायात निरीक्षकको व्यवस्था हुन नसक्नुलाई उनी कारण ठान्छन् ।

सवारी यातायात तथा व्यवस्था ऐन लागू भएको २४ वर्ष बितिसक्दा पनि यातायात व्यवस्था विभागले एउटै यातायात निरीक्षकको व्यवस्था गरेको छैन । ऐनको दफा १५८ मा यातायात निरीक्षकको व्यवस्था गर्नुपर्ने प्रावधान छ ।

गाडीले रुट इजाजत प्राप्त गरे/नगरेको, सवारीले निर्धारित सिट तथा वजन क्षमताअनुसार चले/नचलेको तथा मालसामान बोके/नबोकेको, समय–समयमा ऐन बमोजिम जाँचपास गराए/नगराएको, चालक तथा परिचालकको अनुमतिपत्र तथा यात्रुसूची राखे/नराखेको निरीक्षण गर्ने काम यातायात निरीक्षकको हो । –कान्तिपुर दैनिकबाट