१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


रियो ओलम्पिकः हरिकुमार रिमालले आफ्नै रेकर्डमासमेत सुधार गर्न सकेनन्


0
Shares

                                                          फाइल फोटो
काठमाडौं, भदौ १ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१औं गृष्मकालीन ओलम्पिकमा नेपालका धावक हरिकुमार रिमालले आफ्नै रेकर्डमासमेत सुधार गर्न सकेनन् ।

बुधबार ५ हजार मिटर दौडमा सहभागिता जनाएका रिमालले २५ जनामध्ये २३औं स्थानमा रहेर खेल अन्त्य गरेका हुन् । रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेन्डमा पूरा गरे ।

भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा कास्यपदक जितेका रिमालको उत्कृष्ट समय १४ मिनेट ३२ सेकेन्डको थियो र उनले त्यसमा सुधार गर्ने आशा गरिएको थियो ।

यो स्पर्धामा नेपालको राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा रहेको छ । सेनाका धावक भण्डारीले १४ मिनेट चार सेकेन्डको कीर्तिमान राखेका छन् ।

रियो ओलम्पिकको लागि नेपालका सात खेलाडी ब्राजिल पुगेका छन् । जसमध्ये पाँचजनाले प्रतिस्पर्धा गरिसकेका छन् भने रिमाल छैटौं खेलाडी हुन् । यसपछि तेक्वान्दोकी निशा रावलकोमात्रै खेल्न बाँकी छ ।

नेपालका पौडी खेलाडी शिरीष गुरुङ र एथ्लेटिक्सकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाएका छन् भने गौरिका सिंह र फुपूल्हामु खत्रीको प्रदर्शन सहभागितामै सीमित बनेको छ ।