
काठमाडौं, साउन ३२ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि बुनले आफूले महिला नेतृत्वलाई राष्ट्रसंघको जिम्मेवारी सुम्पन चाहेको बताएका छन् ।
बानले ७ दशकको अवधिमा ८ जना पुरुष नेताले नेतृत्व गरेको राष्ट्रसंघमा महिला नेत्री आउन अहिले उपयुक्त समय भएकोसमेत बताए ।
यद्यपि, जसले नेतृत्व गरेपनि विश्व भविष्यप्रतिको स्पस्ट दृष्टिकोण, शान्ति, विकास र मानवअधिकारप्रति प्रतिबद्ध व्यक्तिले नेतृत्व गर्नुपर्ने उनले स्पस्ट पारे ।
आगामी राष्ट्रसंघको महासचिवका लागि दाबेदार ११ उम्मेदवारमध्ये पाँचजना महिला छन् ।
पोर्चुगलका पूर्वप्रधानमन्त्री एवं राष्ट्रसंघको शरणार्थी एजेन्सीका पूर्वप्रमुख एन्टोनियो जुटेरर्स राष्ट्रसंघको महासचिव हुने सम्भावना रहेको बताइन्छ ।
महिलाका तर्फबाट बुल्गेरियाकी इरिना वोकोभा, अर्जेन्टिनाकी सुसाना माल्कोराको सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
राष्ट्रसंघको महासचिवका लागि सुरक्षा परिषदका १५ सदस्य राष्ट्रले सिफारिस गर्नुपर्छ भने साधारणसभाबाट १ सय ९३ सदस्य राष्ट्रले छान्ने व्यवस्था रहेको छ ।
राष्ट्रसंघको नयाँ महासचिव आगामी शरद्ऋतुमा घोषणा हुने सम्भावना छ ।
योपटक पूर्वी युरोप र रुसले आफ्नो क्षेत्रबाट राष्ट्रसंघको नेतृत्व हुनुपर्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्