१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


पुलिसलाई हराउँदै आर्मीले जित्यो नेपाल कप


0
Shares

चितवन, साउन ३१ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चितवनमा सम्पन्न चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको फाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै आर्मीले उपाधि कब्जा गरेको हो ।

आर्मीका जितमा खेलको १९औं मिनेटमा कप्तान भरत खवास र ३०औं मिनेटमा सुमन अर्यालले गोल गरे ।

उपाधिसँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेतामा बन्दै पुलिसले २ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

विजेता र उपविजेता टिमलाई राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले पुरस्कार प्रदान गरेका थिए ।

स्पोटर्स् फर अल क्लब नेपालले आयोजना गरेको प्रतियोगितामा ३ विभागीयसहित ११ ओटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका रविन श्रेष्ठ, सर्वाधिक गोलकर्ता आर्मीका कप्तान भरत खवास र फाइनल खेलको ‘म्यान अफ द म्याच’ आर्मीका सुमन लामा घोषित भए ।

तीनै खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।