
काठमाडौं, साउन ३१ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्यान्ड्सलाई दुई सय १८ रनको चुनौती दिएको छ ।
नेदरल्यान्ड्सको एम्सटेल्भिनमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो ।
चौथो विकेटका लागि कीर्तिमानी १ सय १८ रनको साझेदारी गर्नेक्रममा कप्तान पारस खड्काले ८४ तथा सागर पुनले ४५ रन जोडे ।
६५ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई पारस र सागरले उद्धार गरेका हुन् ।
उपकप्तान एवं ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३९ तथा विनोद भण्डारीले १७ रन जोडेबाहेक अरु खेलाडीले दोस्रो अंकको रन जोड्न सकेनन् ।
गत शनिबार भएको पहिलो खेलमा ७ विकेटले पराजित हुनेक्रममा नेपाल ९४ रनमै समेटिएको थियो ।
८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा रहेको छ ।
७ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंकमात्रै जोडेको छ । अरु राष्ट्रहरुले ६–६ खेलमात्रै खेलेका छन् ।
प्रतियोगितामा स्कटल्यान्ड र पपुवा न्यूगिनीसँगका ४ खेल हारेको नेपालले नामिबियालाई भने हराएको थियो । नेपालले केन्या, हङकङ र युएईसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्