९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अमेरिकाबाट प्रक्षेपण हुन लागेको नेपाली स्याटेलाइटको नालीबेली


0
Shares

–सुभानु आचार्य(रासस)

ललितपुर । नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात्  यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण हुने भएको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो ।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ ।

ढकालले भने “भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।”

नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ ।

“भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ”, ढकालले थपे “ यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ । ”

नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ ।

उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए ।

“तीन चार इच्छुक पार्टीले टेण्डरको पत्र लगिसकेका छन्”, पाण्डेले भने  “ग्राउण्ड स्टेशनमा भूउपग्रहले पठाएको तथ्याङ्कहरुको विश्लेषण र सङ्कलन हुने गर्छ ।’

नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।

जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ ।

ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ ।

मास्के र श्रेष्ठको भूमिका

नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्य गरेर अघि बढ्नेछन् ।

उनीहरु हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुटेको बताइएको छ ।

नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कनु हुनेछ भने क्यूटेक विश्वविद्यालयको सदस्यका रुपमा रहनुभएका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ ।

नाष्टले जाक्साको सहयोगमा नेपाललाई कसरी सहयोग गर्न सक्छ भनी एउटा भिडियो अभियान चलाइने योजना बताएको छ ।

नाष्टले आउँदा दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने त्यहाँका एक कर्मचारीले बताउँछन् ।

नाष्टले भूउपग्रहबाट सङ्कलन गरेको तस्वीर उच्च क्षमताको हुने छैन । शहरी पूर्वाधार निर्माण र नापी विभागका लागि पनि उक्त तस्वीर काम लाग्दैन ।

अमेरिकाको अन्तरिक्षमा उडाई जापानबाट प्रक्षेपण गरिने उक्त कार्यक्रम अन्तरराष्ट्रिय सहकार्यको एउटा नमूना बन्ने भएको विज्ञ बताउँछन् ।

यसले नेपाली प्राविधिकको आत्मगौरव बढाउनाका साथै उनीहरुमा उत्साह थप्ने छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको कुरा उद्धृत गर्दै नाष्टका प्रमुख व्यक्तिहरुले भने, “नेपालले अबको तीन वर्षमा मेगा स्याटलाइट उडाउने छ ।”