
काठमाडौं, साउन ३१ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नेदरल्याण्ड्सविचको दोस्रो खेल आज हुनेछ ।
शनिवार भएको पहिलो खेलमा पराजित भएको नेपाल आज दोस्रो खेलमा विजयी हुँदै बदला लिने प्रयासमा हुनेछ । तर नेदरल्याण्ड्सलाई उसैको मैदानमा पराजित गर्नु नेपालका लागि सहज भने हुने छैन ।
पहिलो खेलमा चल्न नसकेको नेपालको ब्याटिङ आज सुधारिने अपेक्षा प्रशिक्षक र खेलाडीहरुले गरेका छन् ।
नेपालले पहिले व्याटिङ गरेको खण्डमा कम्तिमा पनि दुई सय रनको योगफल तयार पार्ने रणनीति प्रशिक्षक जगत टमाटाले लिएका छन् ।
तर यसको लागि मौसमले पनि साथ दिनुपर्ने उनको बुझाई छ । पहिलो खेलमा ९४ रनमै समेटिएको नेपाल ७ विकेटले पराजित भएको थियो ।
नेदरल्याण्ड्सको एम्सटेभिलमा आज घाम लागेको खण्डमा नेपाली खेलाडीलाई अस्ती भन्दा सहज हुने अपेक्षा गरिएको छ ।
८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौं स्थानमा रहेको छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शिर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंक मात्रै जोडेको छ ।
अन्य राष्ट्रहरुले ६/६ खेल मात्रै खेलेका छन् । प्रतियोगितामा स्कटल्याण्ड र पपुवा न्युगिनीसँगका ४ खेल हारेको नेपालले नामिबियालाई भने हराएको थियो । नेदरल्याण्ड्स विरुद्धको खेल पछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्