२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

नेविसंघले कांग्रेसभित्र कलह बढ्दै


0
Shares

काठमाडौं, साउन ३१ । नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ ।

सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए । तर, सभापति देउवाले आफूलाई असफल बनाउने रणनीति अन्तर्गत पौडेल पक्षले निर्वाचन रोक्न खोजेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय लिएका हुन् ।

संघको निर्वाचनका लागि आइतबार नै मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो । तर, पौडेल पक्षीय विद्यार्थी समूहले विरोध प्रदर्शन गरेपछि समझदारी जुटाउने प्रयास रोकियो ।

‘पौडेल पक्षसँग सोमबार बिहानसम्म हामी समझदारीको प्रयास गर्छौं, तर निर्वाचनको प्रक्रियामा आउन चाहनु भएन भने तोकिएको समयतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढ्छ,’ सभापति देउवा निकट एक नेताले भने, ‘निर्वाचनमा सहभागी नभए सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ । भाग नलिएकै आधारमा निर्वाचन प्रक्रिया अब रोकिन्न ।’

परिणाम आफ्नो पक्षमा नआउने देखेपछि पौडेल पक्ष निर्वाचन रोक्ने योजनामा लागेको देउवा पक्षले आरोप लगाएको छ भने पौडेल पक्षले संस्थापन पक्षबाट नेविसंघ कब्जा गर्न रातारात फर्जी प्रतिनिधि खडा गरिएको बताएको छ ।

सतहमा प्रतिनिधिको विवाद मुख्य बन्दै आएको देखिए पनि अन्तर्यमा नेविसंघको नेतृत्व कसले लिने भन्नेमा पार्टीभित्रै लडाई सुरु भएको छ ।

संघको नेतृत्व आफूअनुकुल हुँदा देशभर युवा परिचालन गर्न सकिने र त्यसैको बलमा शक्ति केन्द्र बनाउन सकिने भएकाले पार्टी नेतृत्व नेविसंघ आफ्नो हातबाट गुमाउन चाहन्न । यसैकारण सभापति देउवा पक्ष र वरिष्ठ नेता पौडेल समूह आफूअनुकुल बनाउने प्रतिश्पर्धामा उत्रिएका छन्, जसका कारण विद्यार्थीहरु आपसमा जुधेका छन् । –कान्तिपुर दैनिकबाट