
काठमाडौं, साउन ३१ । सरकारले ग्यास सिलिन्डरको गुणस्तर निर्धारण सम्बन्धी मापदण्ड ल्याउने तयारी गरेको छ ।
हाल नेपालमा रहेका पुराना सिलिन्डरको गुणस्तर मापदण्ड छैन । गुणस्तर निर्धारणसम्बन्धी मापदण्ड नहुँदा गुणस्तरहीन सिलिन्डर पड्केर उपभोक्ताको ज्यान जोखिममा पर्दै आएको छ ।
गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड फर एलपीजी बोटलिङ अपरेसन’ मापदण्ड ल्याउन लागेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नयाँ सिलिन्डर उत्पादन गर्ने सम्बन्धमा एक प्रकारको मापदण्ड भए पनि पुराना सिलिन्डरको गुणस्तर निर्धारण गर्ने सवालमा मापदण्ड नहुँदा गुणस्तर कायम गर्न समस्या पर्दै आएको छ ।
राजपत्रमा प्रकाशित गरेर मापदण्ड कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । यो मापदण्ड कार्यान्वयनमा आइसकेपछि हाल बजारमा आइरहेका गुणस्तरहीन सिलिन्डरको उत्पादन र प्रयोग नियन्त्रण हुने उनले दाबी गरेका छन् ।
विभागले मापदण्डअनुसार शर्त पालना नगर्ने उद्योगीले उद्योग संचालन गर्न नपाउने व्यवस्था पनि गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्