१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एपिएफलाई पराजित गर्दै पुलिस क्लब फाईनलमा


0
Shares

चितवन, साउन ३० । खेलको दोश्रो मिनटमै दिनेश राजबंशीको एक मात्र गोलले पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पाखा लगाउँदै आईतबार चौथो नेपाल कप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पोर्टस् फर अल नेपालको आयोजनामा आईतबार भएको निकै नै तनावपूर्ण खेलमा दुवै तर्फबाट गोलको लागि थुप्रै प्रयास खेर गएको थियो ।

खेलको सुरुवातमै एक गोलले पछि परेको अवस्थाबाट फर्किन प्रयासमा रहेको एपिएफका आदित्य चौधरीले खेलको १३ औं मिनटमा हानेको फ्रि किक गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

यस्तै १६ औं मिनटमा प्रहरीका रवी पासवानले हानेको बललाई गोल रक्षक अमृत चौधरीले बचाउ गरेका थिए ।

चितवनको क्याम्पाचौरमा भएको प्रतिस्पर्धामा दोश्रो हाफको १२ औं मिनट एपिएफका रञ्जन बिष्टले गरेको हेड गोल पोस्ट नजिकबाट बाहिरिएको थियो । खेललाई बराबरीमा ल्याउन प्रयासरत रहेको एपिएफका लागि खेलको दोश्रो हाफको १८ औं मिनटमा अञ्जन बिष्टले पोस्ट नजिकबाट गरेको प्रहार बाहिरिएको थियो ।

खेलको दोश्रो हाफको ४३ औं मिनटमा अञ्जन बिष्टले दुई पहेलो कार्ड पाएपछि रेफ्रि सुरज मानन्धरले रातो कार्ड दिएका थिए । त्यसपछि खेलको पुरै समय कतैबाट पनि गोल हुन नसकेपछि राजबंशीको गोल नै निर्णायक भयो ।