
काठमाडौं । नेपालले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट )‘नेपाली स्याट १’ अन्तरिक्षमा पुर्याएर आफ्नो उपस्थिति जनाउँदैछ ।
नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट स्याटेलाइट उडाइने तयारी हुँदैछ ।
यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक)सँग मिलेर बनाइएको हो ।
नेपाली स्याट १ नाम दिइएको नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा पुग्ने भएको छ । करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ ।
यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ ।
स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् ।
यसको आयु अधिकतम तीन वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा.रवीन्द्र ढकाल बताउँछन् ।
प्राविधिक रुपमा उच्च क्षमताको नभए पनि आफ्नै स्याटेलाइट अन्तरिक्षमा पुर्याउने पहिलो कदम नेपालको विज्ञान क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको ढकाल बताए ।
स्याटेलाइटले अन्तरिक्षमा पुग्ने बित्तिकै भने काम सुरु गर्ने छैन । अन्तरिक्षमा पुगेको झन्डै एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्ने छ ।
प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि मात्र स्याटेलाइट पृथ्वी वरिपरि घुम्ने छ ।
मे महिनाको अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने र त्यसको तीन दिनपछि स्याटेलाइटले तथ्यांक पठाउन सुरु गर्ने अनुमान गरिएको छ ।
यो स्याटेलाइटले पृथ्वीसँग निश्चित दुरीमा रहेर ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ ।
यस क्रममा नेपालको आकाशमाथि दैनिक ४ देखि ५ मिनेट रहने छ ।
यसले पठाउने तथ्यांक र सूचना विश्लेषणका निम्ति ‘ग्राउन्ड स्टेसन’ तयार नरहे पनि पृथ्वीको चक्कर काट्न थाल्ने बेलासम्म निर्माण पूरा गर्ने योजना रहेको ढकालले बताए ।
यसको आयु नसकिँदै मध्यम आकारको अर्को स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइने उक्त स्याटेलाइटहरुले भने अहिलेको भन्दा गुणस्तरिय सूचना संकलन गर्ने विश्वास लिइएको छ ।
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गर्दैछ । पहिलो भूउपग्रह प्रक्षेपण गरेसँगै अन्तरिक्षमा अब नेपालको पनि उपस्थिति देखिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्