
-डिल्लीराज पन्त, ईमेज
कञ्चनपुर, साउन २६ । कञ्चनपुरमा पछिल्ला केही महिना यता हत्या र हिंसाका घटनामा बृद्धि भएको छ ।
६ महिनायता मात्र कञ्चनपुरमा १० जनाको हत्या भइसकेको छ । आपराधिक घटना बढ्दै जाँदा प्रहरीको अनुसन्धान तथा कारवाही भने फितलो भएको पीडित पक्षको गुनासो छ ।
२०७२ साल फागुन १६ गते कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको घाँटी रेटेर विभत्स हत्या भएको थियो ।
त्यस यता महेन्द्रनगर गोबरैयाका एक नाबालकलाई आफ्नै बाबुले हत्या गरे । चैत ६ गते दैजीका बिष्णु भट्टको हत्या गरी शव राजमार्गमा फालिएको अवस्थामा भेटियो भने २०७३ वैशाख २३ गते महेन्द्रनगरको संगम होटलमा २ जना मजदुरको पनि विभत्स हत्या भयो ।
त्यस्तै पुनर्वास नगरपालिकाकी बासमती राना, बेतकोट चम्पापुरकी रामदुलारी रानासहित गरी ६ महिनायता १० जनाको हत्या भएको छ ।
हत्या गरिएका तथा शंकास्पद मृत्यु भएका ब्यक्तिका आफन्त तथा अधिकारकर्मीले प्रहरीले दोषीलाई उन्मुक्ति दिएर पीडाको घाउ झन् बल्झाउने काम गरेको आरोप लगाउँदै निष्पक्ष छानविनको माग गर्दै प्रहरीविरुद्ध सडक आन्दोलनदेखि जिल्ला प्रहरी कार्यालय घेराउसम्म गरेका छन् ।
न्यायका लागि प्रहरीमा जाहेरी दिनसमेत सडक आन्दोलन गर्नुपर्ने अवस्था आएकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम राख्न खटिनुपर्ने प्रहरीले किटानी जाहेरी दिँदासमेत घटनाको अनुसन्धानमा चासो नदेखाएको अधिकारकर्मीहरुको आरोप छ ।
महिला अधिकारकर्मी शारदा चन्दले घटनाको अनुसन्धान गरी पीडितलाई न्याय दिनुपर्ने प्रहरी प्रशासनले नै उल्टै प्रमाण नष्ट गरेको आरोप लगाइन् । अधिकारकर्मीको आरोपलाई प्रहरीले भने अस्वीकार गरेको छ । कतिपय घटनाका दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाएको दाबी प्रहरीको छ ।
कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले पछिल्ला दिनमा जिल्लामा हत्या र हिंसाका घटनामा भने वृद्धि भएको स्वीकार गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पीडितलाई न्याय दिलाउन कुनै कसर नराखिने प्रतिबद्धता व्यक्त गरे । उनले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको स्पष्ट पारे ।
केही महिनादेखि बढ्दै गएका हत्या र हिंसाका घटनाले कञ्चनपुरका सर्वसाधारणलाई भने त्रसित बनाउँदै गएको छ । पटकपटक भइरहेका यस्ता घटना नियन्त्रण गर्न सरोकारवाला पक्ष बढी क्रियाशील हुनुपर्ने सर्वसाधारणको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्