
काठमाडौं, साउन २६ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली पौडीवाज शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान राखेका छन् ।
मंगलबार भएको पुरुष सय मिटर फ्रिस्टाईलमा ५७ दशमलव ७६ सेकेन्डको सयम निकाल्दै शिरिषले ५८ दशमलव २२ सेकेण्डको आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।
राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि शिरिषले हिट चरण पार गर्न भने सकेनन् ।
रियो ओलम्पिकमा मंगलबार अन्य दुई नेपाली खेलाडी फुपु ल्हामु खत्री र जिबहादुर मोक्तानले भने बिर्सनलायक प्रदर्शन गरेका छन् ।
जुडोकी फुपु ल्हामु खत्री पहिलो चरणबाटै बाहिरिएकी छन् । महिला ६३ केजी मुनीको तौल समूहमा फुपु क्यूवाकी खेलाडी मारिसेट इस्पिनोजासँग पराजित भएकी हुन् ।
खेलमा फुपु ११–० को फराकिलो अन्तरले पराजित भए पनि पुरै समय म्याटमा टिकेकी थिईन् ।
त्यस्तै आर्चरीतर्फ जितबहादुर मोक्तानले पनि दोस्रो चरणको खेलमा ७० मिटर व्यक्तिगत रिकर्भमा भारतका अतनु दासविरुद्ध निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन् ।
जितबहादुर २९–२६, २९–२४ र ३०–२६ को स्कोरमा पराजित भएका हुन् । समग्रमा जितबहादुर ६–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
मंगलबारका खेलपछि अब रियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोकी निशा रावलको खेल बाँकी रहेको छ ।
एथ्लेटिक्सतर्फ दुबै खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्य राखेका छन् भने तेक्वान्दो खेलाडी रावल कम्तिमा एक खेल जित्ने लक्ष्य लिएर रियो पुगेकी छन् ।
प्रतिक्रिया दिनुहोस्