१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चितवनको एभरेस्ट नेपाल कप फुटबलको क्वार्टरफाइनलमा, रौतहट बाहिरियो


0
Shares

चितवन, साउन २५ । रौतहट जिल्ला फुटबल संघलाई ‘टाइब्रेकर’मा ५–४ ले हराउँदै चितवनको एभरेस्ट क्लब चौथो नेपाल कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

चितवनको क्याम्पाचौरमा मंगलबार भएको प्रतियोगिताको निर्धारित् ९० मिनटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेलको टुंगो टाइब्रेकरबाट गरिएको थियो ।

राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित् समयमा थुप्रै गोलका अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितामा विजयी क्लबका लागि दीपेन्द्र ठकुरी, मनीष आले, दीपक भुजेल, बिदी मगर र देव गुरुङले टाइब्रेकरमा बललाई जाली चुमाएका थिए ।

रौतहटका लागि राजु गोले, सुन्दर लोपचन, रवी तामाङ र विक्रम घिमिरेले गोल गरे भने कृष्ण लामाको प्रहारलाई एभरेस्टका गोलरक्षक सरोज तामाङले जाली चुम्नबाट बचाए । सरोज खेलको ‘म्यान अफ द म्याच’समेत घोषित भए ।

एभरेस्टले क्वार्टरफाइनलमा नेपाल प्रहरीको सामना गर्नेछ ।

बुधबारको पहिलो खेलमा ब्वाइज युनियन क्लब र भरतपुर फुटबल क्लब तथा दोस्रो खेलमा नारायणगढ फुटबल क्लब र एनआरटी क्लब खेल्नेछन् ।