
फाइल फोटो
काठमाडौं, साउन २५ । पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला ।
ट्राफिक प्रहरीले अब तपाइँलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपाइँ पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाले पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको छ ।
महाशाखाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम पालना नगर्ने र तोकिएको जेब्राक्रसबाट बाटो नकाट्ने पैदलयात्रीलाई समातेर एक घन्टाको सचेतना कक्षा दिने तयारी थालेको जानकारी गराए ।
उनकाअनुसार ट्राफिकले भदौ १ गतेबाट ट्राफिक नियम उल्लंघन गर्ने पैदलयात्रीलाई सचेतना कक्षा दिइनेछ । सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ ।
‘ट्राफिक नियम पालना नगर्ने पैदलयात्रीलाई पनि ट्राफिक नियमबारे सचेतना कक्षा सन्चालन गर्ने तयारीमा छौं’–उनले भने–‘बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल समाती एक घन्टाको कक्षा दिनेछौं ।’
ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् ।
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि साउन महिनाभरि नै ‘पैदलयात्री सुरक्षा अभियान’ नै सन्चालन गरेको छ ।
गत वर्ष उपत्यकामा १६५ मध्ये ६६ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्