
काठमाडौं । नेपालले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट )‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ ।
नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो ।
‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूउपग्रह प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधाइ दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ प्रक्षेपण भएको छ, योसँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ । यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ ।
यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् ।
यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकाल बताउँछन् ।
प्राविधिक रुपमा उच्च क्षमताको नभए पनि आफ्नै स्याटेलाइट अन्तरिक्षमा पुर्याउने पहिलो कदम नेपालको विज्ञान क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको ढकाल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्