
-राजु चौधरी, ईमेज
चितवन, साउन २४ । पर्यटन व्यवसायी एवंम् कविको रुपमा चिनिएका चितवन रत्ननगरका सुमन घिमिरेको परिचय केही फराकिलो बन्न पुगेको छ । कविको रुपमा देश/विदेशमा चर्चामा रहेपनि अब उनको परिचय यतिमा मात्रै सिमित रहेन् । उनी अब कविसंगै आफ्नो परिचयमा उपन्यासकार थपेका छन् ।
उपन्यासको रुपमा पहिलो र कृतिको रुपमा घिमिरेले दोस्रो पुस्तक उपन्यास ‘मौनता’ बजारमा ल्याएका छन् । पुस्तक बजारमा आईसकेपनि औपचारिक रुपमा भने एक साताभित्रमा सार्वजनिक गरिने उपन्यासकार घिमिरे बताउँछन् ।
पर्यटन व्यवसायसंगै आफ्नो लेखनकलालाई अघि बढाउँदै लैजानु आफैमा चुनौती भएपछि उपन्यासकार घिमिरेले भने यसलाई सहज व्यवस्थापन गरेका छन् ।
‘मौनता’ जन्मनुबारे लेखक घिमिरे भन्छन्–‘मेरै होटल (जंगल सफारी लज) मा राती आएका एक जोडी पाहुनालाई आधार बनाएरै मैले कथाको सुरुवात गरे, आज उपन्यासको रुपमा ‘मौनता’ आयो ।’
सुनगाभा बुक हाउसको संयोजनमा भरतपुरमा आईतबार आयोजित कार्यक्रममा लेखक घिमिरेले सो उपन्यासको बारेमा पत्रकारहरुलाई जानकारी गराए । ‘उपन्यासमा सबैसंग बसेर पढ्नै नसिकने अस्लिलता छैन, तर प्रेम र विछोडमा केही यौनका कुराहरु छन्, यसलाई सहज रुपमा प्रस्तुत गरेको छु’, घिमिरेले भने ।
यस उपन्यासमा मुख्यगरि अर्पण, महेश, शिला र रानी छन् । यसका अलवा केही सहायक पात्रहरु समेत छन् । यी सबैको भुमिकालाई लेखक घिमिरेले रोचक रुपमा प्रस्तुत गरेका छन् । लेखक घिमिरेले भने, ‘कथा त सरुवा गरे तर पुरै कथालाई जोड्न निकै गाह्रो भयो, यसमा माया, प्रेम, घात सबै समिश्रण छ ।’
२२६ पेजको सो उपन्यासलाई गोर्खा पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य ३३५ रुपैयाँ रहेको छ । लेखक घिमिरे नेपाली साहित्याकाशमा नौलो नाम नभई चिरपरिचित छन् ।
आयरल्याण्डबाट कम्प्युटर साईन्समा मास्टर्स गरेका लेखक घिमिरे सौराहाको जंगल सफारी लजको कुशल संचालक हुन् । उनले आज भन्दा झण्डै पाँच वर्षअघि पहिलो कृतिको रुपमा ‘मेरो बैंसको क्यालेण्डर’ बजारमा ल्याएका थिए
कार्यक्रममा साहित्यकार धनराज गिरी र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले घिमिरेको उपन्यासको चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्