
काठमाडौं, साउन २४ । नेपालकी पौडी खेलाडी गौरिका सिंहले ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्समा सामान्य प्रदर्शन गरेकी छिन् ।
आइतबार भएको महिला सय मिटर ब्याकस्ट्रोकमा तीन खेलाडी सम्मिलित हिट चरणमा पहिलो भएपनि गौरिका अर्को चरणमा पुग्न असफल भइन् ।
निर्धारित सय मिटरको दुरी गौरिकाले एक मिनेट ८ दशमलव तीन चार सेकेण्डमा पुरा गरिन् । उनको यो समय उनकै राष्ट्रिय किर्तीमान भन्दापनि खराब हो ।
रियो ओलम्पिकमा राष्ट्रिय किर्तीमानमा सुधार गर्ने लक्ष्य लिएकी गौरिकाले एक मिनेट ६ सेकेण्डको हाराहारीको समय निकाल्ने लक्ष्य राखेकी थिइन् । यो स्पर्धामा सहभागि कुल ३४ खेलाडीमध्ये गौरिका ३१ औं स्थानमा आइन् ।
अर्को चरणमा प्रवेश नगरेपनि गौरिकाले ओलम्पिकको हिट चरणमा शिर्ष स्थान ओगट्ने किर्तीमान भने बनाएकी छिन् । आइतबारको खेलसँगै रियो ओलम्पिकमा गौरिकाको यात्रा टुंगिएको छ ।
रियो ओलम्पिकमा नेपालका अर्का पौडीवाज शिरिष गुरुङको भने खेल बाँकी छ । गुरुङले पुरुष सय मिटर फ्रि स्टाईलमा प्रतिस्पर्धा गर्दैछन् ।
यसैगरी अन्य नेपाली खेलाडीहरुमा आर्चरीका जित बहादुर मोक्तानले दोस्रो चरणको खेलमा मंगलबार भारतका अतनु दाससँग खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्