
काठमाडौं, साउन २२ । प्रथम धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत् पुरुष ओपनतर्फको उपाधि अर्हान्तकेशर सिंहले जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न फाइनलमा अमृत थापामगरलाई ३–२ ले पराजित गर्दै अर्हान्तले उपाधि जितेका हुन् । उपाधि जित्नेक्रममा अर्हान्तले अमृतलाई ८–११, ११–५, ११–७, ११–१३ र १२–१० ले पाखा लगाए ।
उपाधि विजेता अर्हान्तले १५ हजार रुपैयाँ हात पार्दा दोस्रो भएका अमृतले ८ हजार प्राप्त गरे ।
प्रतियोगितामा विपना ब्लोनलाई पराजित गर्दै भावना सुनुवारले महिला ओपनको उपाधि जितेकी छन् । विजेता भावनाले ९ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो भएकी विपनाले ५ हजार प्राप्त गरिन् ।
प्रतियोगितामा भेट्रान्स ओपनको उपाधि लालबहादुर गुरुङले जित्दा जुनियर पुरुष यु–१७ को उपाधि अमिर ब्लोनले हात पारे ।
यस्तै, जुनियर पुरुष यु–१३ को उपाधि गेल्जे तामाङले हात पार्दा ‘प्लेट मेन्स’तर्फको उपाधि अमर शाक्यले जिते ।
स्व. धनलक्ष्मी महर्जनको स्मृतिमा नेपाल स्क्वास एन्ड र्याकेट्स संघले गरेको प्रतियोगितामा करिब ८० जना खेलाडीले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।
स्व. महर्जनको परिवारले प्रायोजन गरेको प्रतियोगिताको आगामी संस्करण अझ बृहतरुपमा आयोजना गर्ने नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष तथा स्व. धनलक्ष्मी महर्जनका सुपुत्र किशोर महर्जनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्