
काठमाडौं, साउन २२ । ब्राजिलमा जारी ३१औं गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (र्याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन् ।
रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६०औं स्थानमा रहन सफल भएका हुन् ।
उनले सुरुका ३६ प्रहारबाट २९९ स्कोर गरेका थिए । त्यस्तै, दोस्रो हाफमा उनले ३०८ स्कोर जोड्न सफल भए ।
थाइल्यान्डको बैंककमा नोभम्बर २०१५ मा भएको एसियाली च्याम्पियनसिपमा उनले ६४२ बनाएका थिए, जुन उनको हालसम्मकै राम्रो प्रदर्शन हो ।
अब मोक्तानले मंगलबार हुने नकआउट चरणमा भारतीय अतनु दासको सामना गर्नेछन् ।
यसैबीच, रियो ओलम्पिकमा राष्ट्रिय झन्डा फहर्याएकी जुडोकी फुपूल्हामु खत्रीले आफ्नो पहिलो खेल क्युबाकी मारिसेट इस्पिनोसासँग खेल्ने तय भएको छ । यी दुईबीचको खेल मंगलबार साँझ हुनेछ ।
खत्रीले करिब ६ महिनाअघि भारतमा भएको भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्