२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


दुर्घटनामा आमाबाबुको एकसाथ मृत्यु भएपछि १२ वर्षीय बालक किरियामा


0
Shares

हरि बाँस्तोला 

पोखरा, असार २६ । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ– बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा । 

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् ।

नाबालक ६ वर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । आफन्त एवं वरपर बस्ने छिमेकी जो कोहीलाई ती बालक देख्दा मनमा चसक्क बिझ्छ ।

विवश र उनका भाइलाई उनका बाबुआमा मौसम र जीतमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।

उनीहरू शुक्रबार लगभग अपराह्न १ः३० बजे भएको अकल्पनीय दुर्घटनाको शिकार बन्न पुगे । बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेको उनकी फुपूदिदी डिलकुमारी घर्तीले बताइन् ।

‘बिचरा साना छन्, १३ दिनसम्म किरियामा राख्दा आफैँ बिरामी बन्छन् कि भन्ने चिन्ता, आफ्नो घर हैन भाडाको कोठा हो,’ उनले भनिन्, ‘नाबालक भएका कारण पनि १३ दिन गर्नुपर्ने संस्कार तीन दिनमा नै सक्ने गरी व्यवस्था मिलाएका छौँ ।’ 

मौसम दम्पतीको काजकिरियाको व्यवस्था शनिबार रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च रु ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिए ।

वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो । वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए ।

दुवैको मृत्युले ती शिशुको भविष्य अब के होला भन्ने कुराले आफूहरूलाई निकै चिन्तित बनाएको घरबेटी वीरबहादुर गोदारले बताए । ‘१२ वर्षकै उमेरमा बाबुआमाको किरिया गर्नुपर्ने कस्तो विवशता देख्नुपर्‍यो,’ उनले भने, ‘अर्को बाबु त झन् ६ वर्षको छ, बिचरालाई केही थाहा छैन ।’ नयाँ बजारस्थित मैत्री चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा १ मा पढ्ने विशेषन खाना पकाएर खाई दिउँसो स्कूल जाने गरेका थिए ।

उनीहरूका आमाबुबासहित मामा, मामाकी छोरी, काकीलगायत आठ आफन्तको सो घटनामा मृत्यु भएको थियो । नाबालकका रोल्पास्थित गाउँमा ९२ वर्षीय हजुरआमा तिरमाला घर्तीबाहेक कोही छैन । (रासस)