१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको प्रधानमन्त्रीबाट बिदाइ, यस्तो छ नेपालको स्थिति


0
Shares

काठमाडौं, साउन २१ । यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेदरल्यान्ड्स जाने नेपाली टोलीलाई बिदाइ गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली क्रिकेटले नयाँ पहिचान बनाएको भन्दै दुबै खेल जितेर आउन खेलाडीहरुलाई शुभकामना दिए ।

उनले नेपाल क्रिकेट संघ (क्यान)को विवादबारेमा टिम खेलेर फर्किएपछि पुनः छलफलका लागि बोलाउने बताएका छन् ।

टोली शनिबार बिहान टर्की हुँदै नेदरल्यान्ड्स जाने हवाई तालिका छ ।

क्यान निलम्बित भएका अवस्थामा मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि बेंकटापति राजु सम्मिलित छनोट समितिले गत बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियोे ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा हालै इंग्ल्यान्ड भ्रमणमा अभ्यास खेलेर फर्केका १४ खेलाडी परेका छन् ।

इंग्ल्याण्ड भ्रमणको टोलीमा रहेका सुवास खकुरेलको ठाउँमा भने सुनील धमलाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले अंकको खाता खोलेको छ ।

त्यसअघिका दुबै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो ।

नेपालले नेदरल्यान्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ । ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल ४ अंकसहित छैटौं स्थानमा छ ।