१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


इजिप्टमा भीषण हवाई हमला, आइएसका कमाण्डरसहित ४५ जना मारिए


0
Shares

कायरो, साउन २१ । इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट (आइएस)का सिनाई इकाई प्रमुखसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले गरेको हवाई आक्रमणका क्रममा सिनाई इकाइका प्रमुख अबु दुआ अल–अन्सारीसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको हो ।

इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर नजिक गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको बताएका छन् ।

सिनाई इकाई इजिप्टको सबैभन्दा बढी सक्रिय चरमपन्थी गुट मानिँदै आएको छ । उसले विभिन्न आक्रमण गर्दै आएको छ ।

सेनाले हवाई आक्रमणमा चरमपन्थी समूहका अन्य धेरै घाइते भएको र ठूलो संख्यामा हतियार नष्ट भएको दाबी गरेको छ ।

अन्सार बेत अल–मकदिस समूह सिनाई इलाकामा सन् २०११ देखि सक्रिय रहेको छ । घटनाका बारेमा सो समूहले कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)