
काठमाडौं, साउन २१ । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीचमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् ।
बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगेका हुन् ।
बुधबार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झण्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म पुग्नका लागि आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए ।
तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झण्डै डेढकिलोमिटर भित्र रहेको डेरामा हिँडेरै पुगेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्