
बैतडी, साउन २० । बैतडीमा तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ ।
गएको शनिबारदेखि बेपत्ता गोमादेवी स्थानीय संघार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
गोमादेवी श्रीमान्सँग झगडा गरी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएको प्रहरी नायब उपरीक्षक चन्दले राससलाई जानकारी दिए ।
‘मृतकका श्रीमान् जयमल बोहरालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ’–प्रहरी नायब उपरीक्षक चन्दले भने–‘मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।’
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ र परीक्षणपछि थप कुरा थाहा हुनेछ ।
बेपत्ता तीन छोराछोरीको स्थानीय संघार खोलामा खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । रासस
प्रतिक्रिया दिनुहोस्