२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


केरौजाबासीले पहिरो जानुभन्दा २४ घण्टा अघि नै सूचना पाउने भए अब


0
Shares

गोरखा, साउन २० । गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ ।

हालै गएको पहिरोमा परी तीनजनाको मृत्यु भएपछि पहिरोबाट थप मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि सूचना दिने यन्त्र (साइरन) जडान गरिएको केरौँजा माविका शिक्षक सञ्जय ढकालले जानकारी दिए ।

नुवाकोट जिल्लाको मदानपुर गाविसका युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले निर्माण गरेको प्रविधि (साइरन) महावीर पुनको आग्रहमा केरौँजाको मुख्य बस्तीमा जडान गरिएको हो । गाउँमा सो प्रविधि जडान गरेपछि ४२५ टहरोमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् ।

पहिरो जानसक्ने जोखिमयुक्त ठाउँमा जमिनको भित्री सूक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र जमिनमा कम्पन हुने बित्तिकै गाउँमा राखिएको तारले जोडिएको साइरन बज्ने व्यवस्था मिलाइएको छ । यो यन्त्रले पहिरो जानु २४ घन्टापूर्व नै जानकारी दिने बताइएको छ । सो यन्त्र टेक्नोलोजी सेल्स प्रालिले निर्माण गरेको हो ।

पहिरोको उच्च जोखिममा केरौँजा रहेको सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रकाशित भएपछि साइरन राखिएको हो । म्यागासेसे पुरस्कार विजेता पुनको राष्ट्रिय आविष्कार केन्द्रले साइरन राख्न आग्रह गरेपछि केरौँजा पुगेर मङ्गलबार साइरन जोडिएको लक्ष्मणले बताए ।

साइरन जडानका लागि करिब रु दुई लाख खर्च भएको छ । पहिरोलगायत अन्य प्राकृतिक प्रकोपका बेला गाउँलेलाई सुरक्षित ठाउँमा सार्न साइरन बजाउन मिल्ने भएकाले गण्यमान्य चारजनालाई रिमोट कन्ट्रोल दिइएको छ । (रासस)