
काठमाडौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन् ।
सात वर्षपछि दोस्रो पटक नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् । यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार समाल्दै मोदीले दाहाललाई दिएको भारतको औपचारिक भ्रमणको निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले दाहाललाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो।
स्रोतका अनुसार आन्तरिक छलफलमा दाहालले पहिलो विदेश भ्रमण भारतबाट गरेर कुटनीतिक सन्तुलन कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्