
काठमाडौं, साउन २० । करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको शव पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन ।
मृत्यु भएको खबर पुष्टि भए पनि शव भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको शव बनाएर छोराको किरिया गरे । किरियाको वर्षौपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो, ‘तपाईको छोराको शव फेला पर्यो ।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन ।
शव ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए । त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डदेखि गृहमन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने, ‘छिट्टै हुन्छ भनेका थिए, केही खबर पाएका छैनौं ।’
छोराको शव आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाई रोकिएको छैन । वीरबहादुरले भने, ‘छोराको अनुहारमात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ ।’
साउदी प्रहरीका अनुसार शव अलहास्थित सरकारी अस्पतालमा राखिएको छ ।
वीरबहादुरले सरकार फेरिएका कारण छोराको शव ल्याउने पहल चाल्न काठमाडौं आउन नपाएको सुनाए । उनले भने, ‘अब नयाँ प्रधानमन्त्री बनेपछि केही पहल गर्छन् कि भन्ने आस छ ।’
गैरकानुनी कामदारको शव ल्याउन सरकारले रकम बेहोर्न नसक्ने भएकै कारण दूतावासदेखि मन्त्रालयसम्मले यसमा अन्योल साधिरहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार खत्रीको शव ल्याउन करिब दुई लाखदेखि साढे दुई लाख रुपैयाँ लाग्ने देखिन्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्