
नयाँ दिल्ली, साउन १९ । भारतमा गएराति एउटा पुल भत्किदा दुईवटा बस, दुईवटा कार नदीमा खसेर बेपत्ता भएको छ ।
बिहानैदेखि उद्धारकार्यमा टोली परिचालन गरिएको भए पनि दुई बस, दुई कारसहित यात्रुहरुको अवस्था अज्ञात रहेको छ ।
भारतीय संचारमाध्यमका अनुसार स्थानीय समयअनुसार गएराति २ बजेतिर मुम्बई–गोवा हाइवेमा सावित्री नदीमा बनाइएको पुल भत्किएको हो । अंग्रेजकै शासनकालमा बनेको सो पुल नदीमा आएको बाढीका कारण भत्किएको हो ।
पुल भत्किदा दुईवटा बस, दुईवटा कारसहित २२ यात्री नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।
एकै स्थानमा दुई पुल रहेको थियो । दुईमध्ये एउटा पुल नयाँ र अर्को निकै पुरानो थियो । मुम्बईबाट गोवातर्फ जाने सवारी साधनका लागि नयाँ पुल प्रयोग हुँदै आएको थियो भने गोवाबाट मुम्बईतर्फ जानका लागि पुरानो पुल प्रयोग हुँदै आएको थियो । पुरानो पुल भत्किएपछि नयाँ पुलमा पनि सवारी आवागमनमा रोक लगाइएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्