
इस्लामावाद, साउन १८ । पाकिस्तानका एक पत्रकार अहिले निकै चर्चामा छन् । टेलिभिजन पत्रकार अमीन हाफिज सामाजिक संजालमा छाएका छन्, कारण पत्रकारिताका क्रममा उनले प्रयोग गरेको नयाँ शैली नै हो ।
पत्रकारिताका क्रममा एउटा पत्रकारले विभिन्न विशिष्ट व्यक्ति, नेताहरु तथा सेलिब्रेटीको अन्तरवार्तालाई नै प्राथमिकता दिने गर्दछन् । तर अमीनको रोजाइ अन्य पत्रकारकोभन्दा भिन्न रह्यो । उनले आफ्नो अन्तरवार्ताका लागि यस्ता अथिती रोजे, जसलाई यसअघि कसैले अन्तरवार्ताका लागि रोजेको थिएन । अन्तरवार्ताका लागि अमीनको रोजाइमा सडकमा छाडा छोडिएका चौपाया परे । उनले सडकमा गाइभैंसीको अन्तरवार्ता लिएपछि एकाएक चर्चा बटुले ।
पाकिस्तानी टेलिभिजन च्यानल ‘जिओ’ का लागि उनले लिएको त्यो अन्तरवार्ता उक्त टेलिभिजन च्यानलले पनि प्राथमिकताका साथ प्रशारण गरेको छ । लाहोर सहरको सडकमा लिइएको सो अन्तरवार्ता सडक अनुशासनका विषयमा आधारित छ ।
सरकारले लाहोरको सडकलाई सुरक्षित बनाउनका लागि ठाउँ–ठाउँमा आकाशेपुल निर्माण गरे पनि मानिसले त्यस्ता पुलको प्रयोग नगरी जथाभावी बाटो काट्ने गरेको दृष्य देखाइएको सो अन्तरवार्तामा छाडा पशुले भने आकाशे पुल प्रयोग गरेको देखाइएको छ ।
आकाशे पुल छेउमा एउटा भैंसीलाई अमीन प्रश्न गर्छन्, ‘तपाई भर्खरै सिंढी चढेर आउनु भएको छ, तपाईलाई यो काम सजिलो भयो कि कठिन ?’ जवाफमा भैंसीले प्राकृतिक आवाज निकाल्छ । अनि पत्रकार अमीन भैंसीको भनाईलाई आफ्नै शैलीमा अर्थ्याउँदै भन्छन्, ‘सायद यो भैंसीले कुनै पनि जनावरका लागि सिंढी चढ्नु सजिलो काम होइन भन्न खोजिरहेको छ ।’
लगत्तै उनी सडक पार गरिरहेका केही युवालाई प्रश्न गर्छन्, ‘तपाईहरु आकाशेपुल किन प्रयोग गर्नुहुन्न ?’ जवाफमा उनीहरु भन्छन्, ‘हामीलाई घर जान हतार हुन्छ ।’
जनावरले सिंढी प्रयोग गर्दासमेत मानिसले सडक पार गर्न आकाशे पुल प्रयोग नगर्नुलाई उनले व्यंगात्मक शैलीमा आफ्नो रिपोर्टिङ्गमार्फत प्रस्तुत गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्