
काठमाडौं, साउन १८ । आसन्न रियो ओलम्पिकको लागि विश्वका चर्चित खेलाडीहरु ब्राजिल पुग्नेक्रम सुरु भएको छ ।
ब्राजिलको रियो दि जेनेईरोस्थित चर्चीत मराकाना रंगशालामा यही शुक्रवार एक भव्य समारोहका बिच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ । ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका १० हजार ५ सयभन्दा बढी खेलाडी सहभागि हुँदैछन् ।
कुल ३२ वटा खेलस्थलमा हुने प्रतियोगिता दक्षिण अमेरीकी महादेशमा आयोजना हुन लागेको यो पहिलो अवसर हो ।
पछिल्लो समय ब्राजिलको बढ्दो राजनीतिक अस्थिरता, जिका भाईरसको त्रास र आर्थिक संकटले भने रियो ओलम्पिकलाई कुनै न कुनै हिसाबले प्रभावित पार्ने अनुमान गरिएको छ ।
संसदमा महाअभियोग खेपिरहेकी राष्ट्रपति डिलमा रुसेफ निलम्बित अवस्थामा रहेकाले ओलम्पिक उद्घाटन समारोहमा उपस्थित हुने छैनन् । यसैगरी ब्राजिलमा ओलम्पिक आयोजनाको जिम्मेवारी ल्याउन महत्वपुर्ण भुमिका खेलेका पुर्व राष्ट्रपति लुला डा सिल्भा पनि ओलम्पिकमा देखिने छैनन् ।
राजनीतिक अवस्था सँगसँगै विश्वभर बढीरहेको इस्लामिक अतिवादीको जोखिमले पनि ओलम्किको सुरक्षामा गम्भिर प्रश्न उठाएको छ ।
सुरक्षा र स्वास्थ्यमा संभव भएसम्मका सबै सवाधानी र सतर्कता अपनाईएको ओलम्पिक आयोजकको भनाई छ । विश्वमा बढ्दो डोपिङको प्रभाव न्युनिकरण गर्नु पनि रियो ओलम्पिकको अर्को चुनौती हुनेछ ।
विशेषगरी रुसम राज्यद्धारा प्रायोजित डोपीङ प्रकरणको खुलासापछि विश्वभर नैं डोपिङ परिक्षणलाई कडा पारिएको छ भने रियो ओलम्पिकमा रुसबाहेक अन्य देशका खेलाडीहरु पनि डोपिङका असफल देखिने निश्चित छ । थुप्रै विश्वचर्चीत रुसी एथ्लेटहरुले डोपिङकै कारण रियो ओलम्पिक गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्