१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


यो पनि जेल ! पाँचतारे होटल झैं सुविधामा बस्थे एक कैदी (फोटोफिचर)


0
Shares

पाराग्वे, साउन १७ । पाराग्वेमा एउटा अनौठो जेल फेला परेको छ । कयौं सरकारी अधिकारीलाई समेत थाहा नभएको उक्त जेलमा पाँचतारे होटलसरहको सुविधा एक कैदीका लागि उपलब्ध गराउँदै आएको रहस्य पनि खुलेको छ ।

समाचार एजेन्सीहरुका अनुसार ब्राजिलका लागूऔषध माफिया जार्भिस चिमेनेसका लागि तीन कोठो विलासी जेलको व्यवस्था गरिएको हो । सुरक्षाकर्मीको एक टोलीले जेल परिसरमा छापा मार्दा त्यस्तो सुविधायुक्त जेल फेला परेको हो ।

विशाल मिटिङ रुम, ठूलो स्क्रिनसहितको टेलिभिजन, लाइब्रेरी, किचन र आधुनिक फर्निचरसहितका विलासी सुविधा उक्त जेलमा रहेको बताइएको छ । ती कैदीलाई जेल प्रशासनका कुन अधिकारीको पहलमा यस्ता सुविधा दिइयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

हाल उनलाई अन्यत्र स्थानान्तरण गरी उक्त विलासी जेल भत्काइएको अधिकारीहरुले जनाएका छन् ।

जार्भिसलाई सन् २००९ देखि पाराग्वेको जेलमा राखिदैं आएको छ । उनी ८ वर्ष लामो जेल सजाय भोगेर आगामी वर्ष रिहा हुने क्रममा थिए । तर उनी त्यसअघि नै जेलबाट भाग्ने तयारीमा रहेको सूचना पाएपछि प्रहरीले जेल परिसरमा छापा मारेको थियो ।

प्रहरीका अनुसार उनले जेलको भित्तामा बारुद प्रयोग गरी विस्फोट गराउने र भाग्ने तयारी गरिरहेको पाइएको छ ।

उनलाई ब्राजिल सुपुर्दगी गर्नेबारे समेत सुनुवाइ हुन बाँकी नै थियो । ब्राजिलमा पनि उनीविरुद्ध विभिन्न मुद्दा रहेको जनाइएको छ । (एजेन्सी)