१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


यी हुन् विश्वका ८ खतरनाक जेल (फोटो फिचर)


0
Shares

काठमाडौं, साउन १६ । जेलमा बस्ने चाहना कसैको पनि हुँदैन । तर पनि कोही भवितव्यका कारण अपराध गर्न पुग्छन् भने कोही आक्रोसमा त्यस्ता घटनामा संलग्न हुन्छन् । आपराधिक गतिविधिमा संलग्न भएपछि कानुनले व्यवस्था गरेअनुसार सजाय भोग्ने क्रममा मानिस जेलमा पुग्छ ।

जेललाई अहिले सुधार गृहका रुपमा प्रयोग गर्न विश्वव्यापी अभियान पनि चलिरहेको छ । मानवअधिकारवादी संस्थाहरुले जेलमा दिइने अमानवीय यातनाको घोर विरोध गर्दै आएका छन् । यद्यपि केही जेल यस्ता छन्, जसले यातना र हिंसात्मक घटनाका कारण नै विश्वमा आफ्नो पहिचान बनाएका छन् । प्रस्तुत छ, विश्वका खतरनाक ८ जेलको संक्षिप्त विवरण ।

१. टडमोर जेल, सिरिया

सिरियाको यो जेललाई ‘डेथ वारेन्ट’ भनेर पनि चिनिन्छ । यो जेलमा मृत्युदर सिरियाका अन्य जेलको तुलनामा अत्यधिक छ । यहाँका कैदीलाई भयानक यातना दिइन्छ । जेलमा रहेका विभिन्न ग्याङका कारण पनि कैदीहरु असुरक्षित रहने गर्दछन् । सन् १९८० मा तत्कालिन राष्ट्रपति हफेज अल असदको आदेशमा यहाँ करिब दुई हजार चारसय कैदीलाई मारिएको थियो । एक वर्षअघि यो जेललाई निशाना बनाएर आतंकवादी हमला भएको थियो ।

२. गीतारामा सेन्ट्रल जेल, रुवान्डा

विश्वको खतरनाक जेलमध्ये यसलाई पनि एक मानिन्छ । यो जेल सुरक्षाकर्मीका कारण नभई कैदीकै कारण खतरनाक मानिएको हो । पक्ष–विपक्षी गुटबीच हुने झडपमा कैदीहरु मारिने गर्दछन् भने मारिएका कैदीकै मासु समेत बाँकी कैदीले खाने गरेको चर्चा चल्ने गर्दछ । ६०० जनाको क्षमता भएको यो जेलमा सात हजारभन्दा बढी कैदी राखिने गरेको छ ।

३. डियारबाकिर जेल, टर्की

यो जेललाई मानवअधिकार उल्लंघनको मामलामा पहिलो नम्बरमा राखिएको पाइन्छ । विश्वकै विभिन्न जेलको तुलनामा यो जेलमा मृत्युदर निकै उच्च रहेको बताइन्छ । केही मानवअधिकारवादी संस्थाले विश्वकै जेलमा मृत्युदरको हिसाबले यो जेल दोस्रो नम्बरमा रहेको जनाएका छन् । यो जेलमा सन् १९८१ देखि १९८४ का बीचमा ३४ कैदी मारिएका थिए । यो जेलमा शारीरिक र मानसिक यातना उच्च रहेको बताइन्छ ।

४ बेंगवेंग जेल, थाइल्याण्ड

थाइल्याण्डको यो जेल ‘बैंकक हिल्टन’ नामले पनि चिनिन्छ । यहाँ कैदीलाई रासायनिक पदार्थबाट समेत यातना दिने गरिन्छ । मृत्युदण्ड पाएका कैदीलाई फलामको साङ्लोले बाँधेर राखिन्छ । मृत्युदण्डका लागि यहाँ शीर छेदन विधि समेत अपनाइन्छ ।

५. ला सान्टा जेल, फ्रान्स

यो जेल फ्रान्सको राजधानी पेरिसबाट केही माइल टाढा पर्दछ । यो जेललाई ‘सुसाइड सेल’ पनि भनिन्छ । सन् १९६७ देखि प्रयोगमा आएको यो जेल सुरुवातदेखि नै कैदीको आत्महत्याका असामान्य परिस्थिति झेल्दै आएको छ । सन् १९९९ मा १ सय २४ कैदीले जेलभित्रै आत्महत्या गरेका थिए ।

६. ला साबानेटा, भेनेजुएला

यो जेलमा कैदीको व्यवहार निकै क्रुर हुने गर्दछ । यहाँ प्रत्येक दिनजसो हिंसात्मक झडप हुने गर्दछ । यस क्रममा केही कैदीको मृत्युसमेत हुने गरेको पाइन्छ । सन् १९९४ मा यो जेलमा भीषण झडप भएको थियो जसमा १०० कैदीको मृत्यु भएको थियो ।

७. क्याम्प २२, उत्तर कोरिया

यो जेल उत्तर कोरियाका तत्कालिन सर्वोच्च नेता किम जोङ्ग इलको आदेशमा सन् १९६५ मा बनेको हो । यसमा ५० हजारभन्दा बढी कैदी राखिने गर्दछ । उत्तर कोरियामा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको तीन पुस्तालाई नै जेलमा राखिन्छ । यो जेलमा वायोलोजिकल हतियार समेत कैदीमार्फत परीक्षण गर्ने गरिएको बताइन्छ ।

८. अल हायल जेल, साउदी अरब

यो जेललाई मध्यपूर्वकै सबैभन्दा खतरनाक जेल मानिन्छ । यहाँ कैदीलाई शारीरिक यातना अत्यधिक दिने गरिन्छ । यातनाको विरोध गर्नेलाई मार्नु यहाँ नौलो कुरा होइन । यातनाकै कारण आक्रोसित कैदीले सन् २००२ मा यो जेलमा आगजनी गरेका थिए, जसमा १४० कैदी र ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । (एजेन्सीहरु)