
पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच फुर्सदको क्षण, मित्रहरु माझ नयाँ आर्कषण, रमाइलो थियो साथी त्यो सालको ठन्डी मौसम । प्रफुल्ल मनको प्रफुल्ल उमङ्ग, नयाँ प्रेमको नयाँ प्रसङ्ग, कसैको कसैसँग नाम जोडिँदा, नसोध साथी मुटु माझ कस्तो उठ्थ्यो तरङ्ग । जीवन जीउने एउटै रङ्ग, एउटै आवाज अनि एउटै मन, खुशी होस् या बेरङ, ‘आऊ साथी बोतल खोलौं’–भोलि रहनन् यी क्षण………
समय बित्यो । वास्तवमै रहेन त्यो क्षण । यात्री कविताको अन्त्यसँगै शुरु भएको जीवन यात्रा पागलसम्म आईपुग्दा कति साथी छुट्टिए त कति उछिट्टिए । तर आजसम्म पनि मिजास सबैको बेसै छ, भाव त्यहीं कतै शेषै छ । केन्द्रमा बोतल । परिधिमा जमघट । रंगीन रात । बिहानी कहाँ ढल्थ्यो र साथी, त्यो ताकाको बात । मजा–बेमजा, फाइदा–नोक्सान, जीत–हार यी सबैको माथि मित्रत्व । मित्रत्व जमाउने एउटै तत्व । सोमरसको मंगल स्वस्ती ‘आऊ साथी बोतल खोलौं’–यसैमा छ मस्ती । खुल्दासम्म होश, एक गिलासमा जोश, दुईमा बिन्दास, तिनमा लामो सास, चारमा शुरु हुन्थ्यो सापकोटाको बात !
सापकोटा उवाचः– जीवन सत्य हो सत्य नै जीवन हो । भावाबेशमा उनी गीता ओक्लथे अनि ज्ञान मर्मज्ञ हुन्थे । ‘नासतो विद्यते भावो नाभावो विद्यते सतः’ (असत्य वस्तुको कुनै सत्ता छै्न सत्यको अभाव छैन) । यही हो सत्य– मैले बोल्नु तिमीले सुन्नु । ध्वनिमा बिस्तार छ, संसार छ, त्यसैले जानु ब्रह्मको पार छ । जसले अनाहतको ध्वनि सुन्यो उसले ॐ जान्यो, नमन (नमस्कार) जान्यो, नमनको शैली जान्यो, नमन गर्नेवाला जान्यो र नमन गरिनेवाला पनि जान्यो । अन्ततः उसले निरअहंकारमा जीवनको आधार जान्यो । क्षणमा जीवन देख्यो र जीवनमा क्षण । आज बाँच, अहिलेमा बाँच र यहीँ बाच । यही हो र यही मात्र हो जीवन जीउने एक कला । बोतल खोल, बोलत पिऊ । किनकी जीवनको यथार्थ नशा हो । ज्ञानको नशा, प्रेमको नशा र अन्तिम उत्सवको नशा । तर याद रहोस् नशामा होश बनिरहोस् ।
सापकोटाको गफ अनौठो हुन्थ्यो–त्रिआयामी । तर शर्माको गफ सरल हुन्थ्यो अद्यपी अनौठो पनि । देवकोटाको ‘शुन्यमा शुन्य सरीलाई’ उसले गाँठो बनाएकी थिई । ‘आखिर श्री कृष्ण रहेछ एक, न भक्ति भो ज्ञान, न भो बिवेक’लाई उसले कुन्जी मानेकी थिई । कथन उनको सरल थियोः–जीवनको उपलब्धि राममा हैन विश्राम (स्थितरता) मा छ । अर्की सुबेदी अझ प्रखर थिइन् । थरै सुबेदी, बेदको सार बोकेरै हिँड्थिन् । ‘तत्वमशी स्वेतकेतु’– तिमी त्यही, म त्यही, परमात्मा त्यही । कोही यहाँ अर्को छैन, पराइ छैन । सब ममा व्याप्त छ म सबमा व्याप्त छु । सब छ, सब छैन, तर अन्तिममा मात्र त्यही छ जो छँदैछैन ….। के भन्थीभन्थी तर सुन्दा मीठो लाग्थ्यो । कर्णप्रिय । साँच्चिकै जस्तो, हो नै जस्तो ।
यी सबैका मास्टर काफ्ले थिए । कुनै समय वार्तालापबाटै मानसिक तलमा पुत्र लाभ गर्न सक्ने क्षमता राख्ने उनी आज–भोली उत्ती धेरै बोल्दैनन् । शायद जीवनको अनुभवले पकाउँदैछ उनलाई । वार्तालापको पुत्र लाभमा भन्दा यथार्थको पुत्र लाभमा अलिकती बढी मिहिनेत गर्नु पर्छ भन्ने बुझे जस्तो छ उनले । यही कारणले उनलाई गुप्त विद्वान भन्दा कुनै आपत्ती हुँदैन । बोल्दा छड्के परेर बोल्ने उनको बानीमा अक्कडोपन थियो । लागेको बानी कहाँ छुट्छ र ! सिधा मुखा–मुख भएर कहिल्यै नबोलेका उनी अझै पनि छड्के परेरै बोल्छन् । चार्वाकको सिद्धान्तमा ठाडै उजुर गर्छन् । यो सिद्धान्तसँग उनको के रिसिइबी छ ? आजसम्म कसैलाई थाहा भएन । कसैसँग पोखेनन् पनि । ‘यावत जीवेत सुखं जीवेत, ऋण कृत्वां घृत पिवेत’ (जीवन जस्तो छ सुखी छ, ऋण लिएर भए पनि घिऊ खाऊ) – उनी भन्छन् यो बर्वादीको पहिलो खुड्किलो हो । के कारणले हो आजसम्म बताएनन् । मुखमा पान च्यापेपछि मिर्जा गालीब (भारतीय उर्दु कवि) को उर्दु शायरीप्रति उनी विशेष प्रिति देखाउँथे । अरु सबैको तर्कपछि अन्तिममा बोल्ने उनको बानी प्राय एउटै कुरामा टुङ्गिन्छ – ‘हमे मालुम है जन्नतकी हकिकत लेकिन, दिलको खुश रख्नेके लिये ‘गालिब’ खयाल अच्छा है’ – (मलाई थाहा छ स्वर्गको वास्तविकता तर हृदयलाई खुशी राख्न ‘गालिब’ सपना मिठो छ) ।
पाँच औंला एक मुठ्ठी, एउटाको चोट अर्कोको पीडा । तर साथी अब जीवनले कोल्टे फेर्यो । केही दुरी तय भो । मित्रत्वको अभावमा मित्रता औपचारिकता बन्यो । शर्माको बिदाईसँगै सापकोटाको सी–अफमा होलीको रंग फिका भो । मित्रताको मजा लत्पत्तिए लगत्तै बोतल नखोलेको पनि बर्षौं भयो । तर साथी ठूलो आवाजमा जीवन छछल्किए पनि याद अझै धमिल्लिएको छैन । स्मृति अझै ताजै छ । तिम्रो, उसको, त्यसको, सबैको । अनाहकमा याद यातना नबनोस् । सुनेको छु, आज भोली प्रायः सबै अली हैदर (पाकिस्तानी गायक) को पुरानी जिन्स सुन्छन् अरे । तर साथी, जीवन यत्तिमै कहाँ टुङ्गिदो रै’छ र ! यस्तो लाग्छ उदाउँदो भोलि तिमी फर्किन्छौ, ऊ आउँछ । र, केही नभनिएको तर भनिनयोग्य, केही नसुनिएको तर सुनिनयोग्य कुरा त्यहींबाट शुरु हुन्छ जहाँ थाँती राखेका थियौं । जीवन सकारात्मक छ साथी । तर लाग्छ समय कम छ । त्यसैले साथी, बसौं, बिसाऊँ, भाँती पुर्याउँ, ‘आऊ साथी बोतल खोलौं’– भोलि फेरि तिमी कहाँ, ऊ कहाँ, को कहाँ ………
प्रतिक्रिया दिनुहोस्