
काठमाडौंको एक निजी टेलिभिजनका एक पत्रकार एकै दिनमा ११ वटा औपचारिक कार्यक्रमको समाचार संकलनमा सहभागी भएछन् । साँझपख समाचार लेख्दै जाँदा ९ वटा मात्र तयार भए । २ वटा समाचार हराए । ती समाचार कुन थिए भन्ने कुरा उनले पत्ता लगाउन सकेनन् । एकैदिनमा धेरै समाचार संकलन गर्नु उनको दैनिकी, कर्तव्य वा जिम्मेवारी सबै हुने गथ्र्यो ।
हुन त एकै दिनमा एक दर्जनभन्दा बढी समाचार संकलन गरेर रेकर्ड कायम गर्ने पुराना पत्रकार नेपालमा नभएका भने होइनन् । तर यहाँ उल्लेख गरिएको घटना र पात्र नेपालमा गणतन्त्र घोषणा भइसकेपछिको ताजा हो । एउटा संवाददाताले दिनहुँ आधा दर्जन कार्यक्रममा सहभागी हुनु सामान्य जस्तै बनेको छ । उनी र त्यो टेलिभिजन त एउटा प्रतिनिधि मात्र हुन् । पछिल्लो समयमा खुलेका नयाँ टेलिभिजन र निजी रेडियो हुन् वा पुराना नाम चलेका, एकाधवाहेक सबैमा यस्तो अभ्यास कुनै न कुनै रुपमा छ । सञ्चारगृहको दैनिक कार्यसूचीमा एउटै ब्यक्तिका नाममा धेरै कार्यक्रम भागमा परे पनि अनौठो मान्नु पर्दैन । कार्यसूचीबाट खटिएको संवाददाताले तत्कालै अर्को समाचार संकलनमा जानु कर्तव्य नै मानिन्छ । अझ अरु कार्यक्रमहरु थपिंदै जानु सामान्य नै हुन्छ । यसो गर्नु संवाददाताको दायित्व ठानिन्छ ।
हुन त योे लेख रेडियो र टेलिभिजनका सहकर्मीका अनुभवका आधारमा तयार भएकाले छापा माध्यमसँग मेल नखान पनि सक्छ तर मैले छापा माध्यममा पनि यस्तै अभ्यास गर्ने केही पत्रकारलाई राम्ररी चिनेको छु । जसलाई यही कोटीमा राखेर हेर्न सकिन्छ ।
मिडियामा चलिरहेको अभ्यासका आधारमा भन्न सकिन्छ, यसरी काम गर्ने संवाददाताले घटना अर्थात ‘हार्ड न्यूज’ को कभरेज मात्र गरिरहेका छन् । सञ्चारमाध्यमका सञ्चालक यसरी खटाइएका संवाददाताले सम्प्रेषण गर्ने घटना कभरेजलाई ‘ब्रेकिङ्ग न्यूज’, ‘फ्ल्यास न्यूज’, ‘न्यूज अलर्ट’ वा अन्य कुनै नाममा प्रतिष्पर्धीलाई उछिन्न पाएकोमा खुसी देखिन्छन् । एक जना संवाददाता विहानदेखि साँझसम्म खटिन्छ केवल घटना कभरेजका लागि । दिनभर बस्ने दलका बैठकमा होस् वा नेताका भाषणमा वा दाताबाट पैसा ल्याएर सञ्चालन गरेका गैससका भाते गोष्ठीमा उर्जावान पत्रकारको सिर्जनशील समय खर्च भइरहेको छ । यस्ता धेरै कार्यक्रममा सहभागी भएर उसले सञ्चारगृहका लागि समाचारको संख्या बढाउने काम मात्र गर्छ । तनावै तनावकाबीच उसले रचनात्मक काम गर्न सक्दैन । सञ्चारगृह एकै जनालाई धेरै काममा लगाउन पाएकोमा दङ्ग छ, सञ्चारकर्मी दिन कटाएर जागिर खान पाएकोमा खुसी । यसरी संकलन गरेका समाचारको लेखाजोखा गर्दै जाँदा उपलब्धी शून्य देखिन्छ । न त मिडिया नै आवाजविहीनहरुको आवाज बनिरहेको देखिन्छ, न त संवाददाताहरु नै ‘प्रो–एक्टिभ’ हुन सकिरहेका छन् ।
मिडियामा आमसञ्चार तथा पत्रकारिता विषय पढेका युवा पुस्ताको प्रवेश बढ्दो छ । पत्रकारिताको सैद्धान्तिक ज्ञान भएका यस्ता युवा पत्रकारलाई अभ्यासका क्रममा भने अनावश्यक कामको बोझले उनीहरुमा भएको सिर्जनशीलता मार्ने काम भइरहेको छ । उनीहरुको दैनिकी नयाँ–नयाँ खबरको खोजी गर्नेभन्दा पनि खटाएको कामबाटै फुर्सद नपाउने गरी बितिरहेको छ ।
मिडिया भनेको ‘माध्यम’ हो । जसको मूख्य काम जनतालाई सु–सूचित गर्ने हो । जहाँ ‘रिपोर्टर’ सन्देशवाहक हुन्छ । उसले प्रेस स्वतन्त्रताको भरपूर उपभोग गर्दै स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्छ । अन्तर्राष्ट्रिय स्तरमै श्रमजीवीका लागि ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ अवधारणा अभ्यासमा छ तर नेपालका आमसञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारलाई भने थेग्नै नसक्ने तहको कामको बोझ छ । अब भन्नोस् उनीहरुले गरेको अभ्यास हेर्ने हो भने यस्ता पत्रकारलाई ‘रिपोर्टर’ भन्ने कि ‘पोर्टर’ ?
प्रतिक्रिया दिनुहोस्