
थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, धत बिद्युत प्राधिकरण ! यिनीहरुलाई पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो ठूलो पानी पर्दा पनि लाइन छैन। यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ ।
अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट गरेको, हाम्रो देशको स्थिति देखेर भन्दै थियो – नेपाल जस्तो अन्धकार देशमा बसेर नि के आइटीको काम गर्छु भनेर फूर्ति लाउँछस ? बरु आइज यतैतिर, २५ एमबिको युट्युबको भिडियो पनि सरर बग्ने इन्टरनेट, चौबिसै घण्टा अटुट बिजुली । त्यहाँको जस्तो १६ घण्टाको लोडसेडिङ, लाइन आयो भने पनि राति सुतिसकेपछि र उठ्नु अघि, अनि त्यो कछुवाको तालको इन्टरनेट । यसो सोच्दा त हो नि, हामी कम्प्युटरमा काम गरेर खाने बाटो बनाएकाहरुलाई त यहाँ भन्दा ठूलो श्राप के हुन सक्छ र? कहिलेकाँही त साँच्ची नै दिग्दार लागेर आउँछ भन्या । अस्तिनै कहिले हो नेटमा पढ्या थेँ, कोरियामा त संसारकै सबैभन्दा फास्ट नेट चल्छ रे, सरर ! कहिलेकाँही त त्यतैतिर गइदिउँ की जस्तो पनि लाग्छ । आफ्नै देशमा बसेर केहि गर्नुपर्छ, बाहिर गएर घोटिएर काम गरेर दाम मात्र कमाएर के गर्नु? आफ्नै देशको यो सानो ठाउमा केहि गरेर यसो नाम कमाउन सकिन्छ कि भनेको, यो बिद्युत प्राधिकरण र नेपाल टेलिकम मिलेर हामी आइटीमा काम गर्ने मान्छेहरुलाई गरी खान नदिने भए । बिस्तारै भए पनि केहि होला नि भन्दा भन्दै बर्षौँ बितिसक्यो, आजकल त आशै मरिसक्यो । मलाई त कहिलेकाँही हामी कम्प्युटरमा काम गर्ने मान्छेलाई मात्र हेप्या हुन् कि जस्तो लाग्छ । हुन त सबैको आ-आफ्नै समस्या होलान् । लाइन र नेट नभएपछि हामी कम्प्युटरमा काम गर्नेहरु के जात्रा हेरेर बस्नु?
अस्ति नयाँ बर्षकै बेला हो एउटा दाइको अफिसमा गाको, त्यो दाइले भन्दै हुनुहुन्थ्यो – भाइ अब त हाम्रो सिजन आउँदै छ, कस्सिएर काम गर्नु पर्छ है । एकैछिन त अचम्म लाग्यो, होइन दाइ आइटीको काम गर्ने भएर पनि के खेतीपाती गर्ने कृषक जस्तो सिजन आउँदै छ भन्या? हाँस्दै दाइले भने – ल त्यति पनि थाहा छैन भाइ? नेपालमा त कृषि र आइटीको असार/साउन लागेपछि सिजन आउँछ नि ! खेत रोप्न नि झमझम पानी पर्नुपर्छ अनी राम्रोसँग बिजुली आउन पनि पानी पर्नैपर्छ । बिजुली नै नभएपछि हाम्रो आइटीको पनि के काम? नेताले जस्तो गफ हानेर बसेर भएन क्या रे ! त्यति भन्दै दाइले थप्नुभो – यो सिजनमा मज्जाले रातभर काम गर्नुपर्छ अनि अफ-सिजनमा खुट्टा पसार्यो, अँध्यारोमा बस्यो ।
फेरि कहिलेकाँही त सिजनमा यार्सागुम्बा टिप्न जानेले मौका पार्या जस्तो हाम्ले नि गर्या हो । बाहिरका खैरेको तीन-चार हजार डलरसम्मको प्रोजेक्ट पनि हात पारेकै हो । अब नेपालमा बसेको फाइदा भन्ने कि के भन्ने त्यसलाई झन्डै ७३ ले गुना गरेर बुझ्दाखेरी त सान नै बेग्लै, मै राजा हुँ जस्तो लाग्ने ! त्यहि लोभले बिदेश नगएर बसेको, तर कहिलेकाँही यहाँका नानाथरि समस्या देख्दा त तुरुन्तै अमेरिकातिर टाप कसुँ जस्तो नलाग्या पनि होइन। रत्नपार्कबाट अमेरिका जाने बस लाग्ने भैदिएको भए उहिल्यै नेट स्लो भाको झोँकमा टाप कसी सक्थेँ होला । तर के गर्नु नेपाली परियो, अमेरिकाको त के कुरा गर्नु छिमेकी राष्ट्र भारत छिर्दा त बोर्डरमा जुँगेमुठेले खाउँला जस्तो गरेर हेर्छ। जुँगेमुठे भन्दाखेरी एकपटक बिद्यार्थी छँदा भारत भ्रमणको लागि निस्केको याद आयो, सुनौली बोर्डर काट्दै थेँ – ओइ गोर्खाली इधर आ, किधर जा रहे हो? भनेर भारती डन्ठे हवल्दारले गोलभेँडा जत्रो आँखा देखाउँदा झन्डै सातो पुत्लो गाथ्यो । यहि छिमेकी राष्ट्रमा त यस्तो अवस्था भाको बेलामा अमेरिका जान्छु भन्नु हामीजस्ता सानातिना मान्छेलाई त आकाशको फलै भो।
के गर्नु? प्राधिकरणलाई जति सरापे पनि आफ्नो पेट भरिने होइन। अब त लोडसेडिंग तालिका हेर्दै कुन चाँही साथीकोमा कति बेला लाइन आउँछ भन्दै ल्यापटप बोकेर काठमाडौका टोल-टोल चाहार्ने बिचार गरेको छु। के गर्ने गरी खाने बाटो त गर्ने पर्यो ।
तपाइँहरुले पनि सहयोग गर्ने हो कि?
प्रतिक्रिया दिनुहोस्